
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दैनिक फैलदो छ । यस अघि कोरोनाकै कारण थलिएर तंग्रँदै गरेको विश्व समुदाय पुनः एकपटक त्रसित बनेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको यो भेरियन्टका कारण हालसम्म ४० जनाको मृत्यु भैसकेको छ भने बिश्वका अधिकांश देशहरुमा डेढ लाख भन्दा बढी संक्रमित फेला परि सकेको डब्लुएसओले जनाएको छ ।
नेपालमा पनि संक्रमित फेला परिसकेको अवस्थामा सतर्क हुँदै संक्रमण फैलन नदिन पूर्व तयारी अत्यावश्यक बनेको छ । लक्षण यस अघिको भन्दा सामान्य देखिए पनि हेलच्याक्राई गरियो भने ठूलो मानवीय क्षती नहोला भन्न सकिन्न । सतर्कता नै पहिलो आवश्यकता भएकाले सम्पुर्ण पक्ष समयमै जुट्नु आवश्यक छ ।
संक्रमणको अघिल्लो लहरबाट पाठ सिक्दै स्वास्थ्यका क्षेत्रमा मजबुत व्यवस्थापन गरेका अमेरिका लगायत बिश्वका धेरै देशहरुले पनि यो भेरोयन्टलाई गम्भिरताका साथ लिदै सुरक्षात्मक उपायाको सुरुवात गरिसकेका छन् । उनिहरुले पहिलेकै नियमहरु सामाजिक दूरी कायम गर्नु भीडभाड नियन्त्रण, मास्क तथा सेनिटाईजरको प्रयोगलाई उच्च महत्वका साथ पुन लागु गरिसकेका छन् । यो नै एक उत्तम बिकल्प हो किनकी कोरोनाको कुनै ठेट उपचार छैन भ्याक्सिन बाहेक । भ्याक्सिन लगाएका हरुमा समेत तिब्र फैलावटको कारण यसैमा पुर्ण बिस्वास गरेर बस्ने अवस्था छैन । त्यसैले हामीले पनि अघिबाट पाठ सिकेर समयमा नै सचेत बन्नुपर्छ । सुरुवातमै फैलावट रोक्न सकेमा आगामी दिनमा हुन सक्ने ठूलो क्षतिबाट जोगिन सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले समेत लकडाउन र यात्रा प्रतिबन्धले मात्रै भाइरस नियन्त्रण नहुने भएकाले व्यक्ति सचेत हुनुपर्ने बताई सकेको छ । यसमा हामी कोहिले पनि खेलाजी नगरौं । छिमेकी मुलुक भारतमा झण्डै ४३० ओमिक्रोन संक्रमीत फेला परि सकेको छ । यो हाम्रो लागि उच्च जोखिम हो । खुल्ला सिमानाकाबाट दैनिक हजारौं मानिस ओहोर दोहोर गर्ने भएको कारण जुनसुकै बेला नेपालमा संक्रमित बढ्न सक्छ ।
कोरोना संक्रमणकै कारण दुई वर्षसम्म ठप्प पठन पाठन भर्खरै सुचारु भएका छन् । बिस्तारै जनजीवन सामान्य बन्न लागेका बेला नयाँ संक्रमण फैलनु निराशाको विषय त हो । यसबाट देशको समग्र अर्थतन्त्रका गम्भीर असर पुर्याउन सक्ने हुदा समयमै नियन्त्रण मुखी योजना ल्याउनु पर्ने देखिन्छ । स्वास्थ्य संरचना र जनशक्तिको उचित मूल्यांकन गरी समयमा नै तयारी अवस्थामा राख्न सकिएन भने यस अघिको अबस्था दोहोरिन सक्छ भन्ने कुरा कुनै पनि हालतमा भुल्नु हुँदैन ।
स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै विशेष स्वास्थ्य परीक्षणको व्यवस्था गरेको अहिलेको अबस्थामा यो मात्र पर्याप्त पक्कै छैन । परिक्षणको दायरा व्यापक बनाईयोस । नेपाल प्रवेश गर्ने प्रत्येक नाकामा परिक्षाको ब्यबस्था संगै कडाई गरि सिमा क्षत्रका बासिन्दामा सुचना प्रवाह गर्ने काममा ढिलाई नगरियोस ।
भाईरसको जोखिमलाई ख्याल गर्दै दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आएका पर्यटक र नेपाली नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइन बस्न निर्देशन दिनु सरकारको सकारात्मक कदम हो तर यो पनि प्रभावकारी बन्न नसकेको गुनासो आउदै गर्दा कतै चुकेको पो होकी तयारी गर्न। यस्ता विषयमा सरकार गम्भीर बन्नु अति आवश्यक छ । निर्देशनले मात्र काम चल्दैन । प्रभावकारी कार्यनयन र सुपरिबेक्षण अति आवस्यक छ । जनमानसमा त्रास बढ्दै गएको पछिल्लो अवस्थमा नागरिकको जीउधनको रक्षा गर्नुपर्ने दायित्व सरकारको हो । अलिकती पनि लापरवाही भएमा ठूलो मानविय क्षती हुन सक्छ भन्ने कुरामा सबै गम्भीर बन्नु आवश्यक छ।
सिमानामा समस्या: छिमेकी मुलुक भारतमा नया भेरियन्ट फैलिदै जाँदा नेपालको सिमावर्ती नाकामा जोखिम देखिएको छ । भारतमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दर दैनिक बढ्दै छ । भारत र नेपालबीचको खुला सीमा नाकामा दिनहुँ हजारौं व्यक्ति निर्वाध ओहोरदोहोर गरिरहन्छन् । भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लामो खुला सिमाना रहेको छ । प्रदेश ६ बाहेक अन्य सबै प्रदेशले भारतसँगको सीमा छुन्छ । त्यसमा पनि उच्च जोखिम तराईका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीलगायतका ९–१० नाकामा जोखिम तिब्र बढेको छ ।
त्यसो त यसअघि पनि सीमा नाकामा लापरवाही हुँदा कोरोनाको संक्रमण दर निकै बढेको थियो जस्ले गर्दा सुदूरपश्चिममा मात्र पाँच सयभन्दा बढीले ज्यान गुमाउनु परेको थियो । दोस्रो लहरका बेला पनि सरकारले भारत र चीनतर्फका ३० नाकालाई बन्द गरेको थियो। तर पुर्णरुपमा प्रभावकारी भने हुन सकेको थिएन ।
संक्रमणकालिन अवस्थामा सिमाक्षेत्रमा आगमनको अभिलेख नै प्रभावकारी हुन नसकेको गुनासो बारम्बार आउने गरेको छ । यो एउटा ठूलो प्रश्न चिन्ह हो सरकार र संवन्धित निकाय समक्ष । हवाई यात्रुको लागि एयरपोर्टबाटै केही ब्यबस्था गरिएको भए पनि सिमा नाकामा देखिएको लापरवाहीले हामी संबेदनसिल छैनौ भन्ने देखाउँछ । कतिपय सिमानामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको भएपनि परीक्षण जुन रुपमा हुनुपर्ने यस अघिको लहरमा पनि देखिएन र यो पटक पनि अवस्था उहीँ दोहोरिने त होईन ? अघिल्लो लहरको क्वारेन्टाइन ब्यबस्था अझ प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।
आवातजावतलाई व्यवस्थित बनाउने, स्वास्थ्य मापदण्डको पालना गर्ने, सीमामा एन्टिजेन परीक्षण गर्ने कामहरू द्रुत ढंगमा अघि बढाउने, सचेतनात्मक सुचना मुलक सन्देश प्रवाह गर्ने , स्थनिय निकायहरुलाई चुस्त बनाउने जस्ता काम संक्रमणले दायरा नबढाउदै गर्नुपर्ने देखिन्छ । रोजगारीको सिलसिलामा भारत गएकाहरू संक्रमणको जोखिम बढेको बेला स्थलमार्ग हुँदै नेपाल फर्कन्छन् । त्यस्तो अवस्थामा सिमा नाका व्यवस्थापनमा निकै सकस पर्ने गरेको छ । त्यसैले पूर्वतयारी र रणनीतिका सम्बन्धमा समयमै ठोस निर्णय गर्नुपर्छ देखिन्छ । सिमा नाकाको सुपरिवेक्षण एवं अनुगमनमा देखिएको फितलो पनलाई सिघ्र चुस्त गरिनु पार्दै पुर्ण रुपमा पुर्व तयारीमा जुट्नु अति आवश्यक छ ।
सीमा क्षेत्रमा जनस्वास्थ्य सम्बन्धी जोखिमलाई नजर अन्दाज गरेमा संक्रमणको फैलावट देशैभर तिब्र हुन सक्छ । त्यसैले सिमा सँगै विमानस्थलमा समेत मापदण्डमा कडाई, स्वास्थ्य जाँचलाई अझ प्रभावकारी बनाउदै संघ, प्रदेश र स्थानीय तहको सहकार्यको चुस्ततामा स्वास्थ्यजाँच र परीक्षण सर्वसुलभ बनाउदै जन स्वास्थ्यको सुरक्षा मा ध्यान दिन नितान्त आवश्यक छ । हेल्थ डेस्क, क्वारेन्टाइन एवं होल्डिङ सेन्टरमा भवनहरु महिला र पुरुषलाई सहज रुपमा समेट्ने खालको व्यवस्था गर्नुपर्छ । आकस्मिक र आपत्कालीन स्वास्थ्य सेवा प्रणालीलाई गम्भिरताका साथ समीक्षा गरि सुदृढ बनाउनु नितान्त जरुरी छ ।
तर हामी आत्तिने भन्दा पनि सचेत हुने र संक्रमणबाट जोगिने हो । खोपको प्रक्रिया पनि तिब्र भैरहेको छ । सक्दो छिटो सबै नेपालीलाई खोप लगाउने कोसिस गरौ । सरकारको संक्रमण नियन्त्रणको तिब्र तयारीमा र नागरिक सचेतनाले नै सम्भाव्य जोखिम कम गर्न सकिन्छ । त्यसैले जनता आफै पनि सचेत बन्दै मास्क र स्यानीटाइजरको प्रयोग, सरसफाइ र पौष्टिक आहारमा ध्यान दिने गरौं र ओमिक्रोन मात्रै होइन जुनसुकै भाइरस पनि दबाउन सक्ने बनेर बसौं ।