फूलको प्रश्न

Avatar photo
Dhadingpost
शनिबार, पुस ३, २०७८

एउटा पुरानो जीर्ण घर छ ।

आँगनको डिलमा
गन्देहरुको बीच
जबर्जस्त फुलेको छ
`एउटा सयपत्री´

उसले कहिल्यै देखेन
मालीको अनुहार
कहिल्यै पाएन
मातृत्वको आभास
सडकमा भेटिएको
बेवारिसे बच्चाजस्तो
जन्मदै कुपोषणले गालेजस्तो
खिरीलो शरीर बोकेर
बल्लतल्ल एक फिट
उक्लिएको छ
र, जन्माएको छ –
“आफ्नै कदका केही थान कोपिलाहरु “
फुलाएको छ ; सकि नसकि ।

फूल त फूलै हो ऊ
तर , कहिल्यै कसैले सुम्सुम्याएन
टिपेनन् कुनै कोमल हातहरुले
र, सिउरेनन् शिरमा
कसैले अँगालेननर र
खिचेनन् सेल्फी ऊ सँग
झुम्मिएनन् वरिपरि भमराहरु
चुमेनन् मौरीहरुले
र , गरेनन् परागसेचन ।

फुले पनि नफुलेजस्तो
सुगन्ध पनि गन्धजस्तो
रस पनि निरसजस्तो
किन फूलजस्तो हुन सकेन ऊ ?
किन फूलजस्तो फुल्न सकेन ऊ ?
किन तान्न सकेन मौरीहरुलाई ?
किन भुलाउन सकेन भमराहरुलाई ?

यतिबेला ,
आफ्नै चरित्रमाथि शंका छ उसलाई
आफ्नै विशेषतामाथि द्विविधा छ उसलाई
आफैंप्रति दिग्भ्रमित छ ऊ
र , आफैंले आफैंलाई प्रश्न गर्छ –
” म फूल हुँ कि तितेपाती ?? “