धादिङ जीवनपुरका युद्ध न्यौपानेलाई नगद ५ लाख सहित दोश्रो कृषि तारा अवार्ड

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २४, २०७८

धादिङ मंसिर २४ । धादिङ धुनिबेसीका कृषक युद्ध न्यौपाने दोश्रो कृषि तारा अवार्ड २०२१ बाट सम्मानित भएका छन् । धुनीबेसी जीवनपुरका युवा किसान न्यौपाने नगद ५ लाख राशी सहित उक्त दोश्रो कृषि तारा अवार्डबाट सम्मानित भएका हुन् ।

साना किसान विकास बै.क. मार्फत इजरायली दुतावासको सहयोगमा Learn & Earn कार्यक्रम अन्तर्गत इजरायल तालिममा सहभागी भई स्वदेशमा कृषि व्यवसाय गर्दै आएका न्यौपानेलाई इजरायली दुतावास र अबसर फाउन्डेशनले काठमाडौं मारिओट होटलमा एक भव्य कार्यक्रमका बीच नगद ५ लाख सहित अवार्ड प्रदान गरेको हो ।

उनलाई संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवबाट दोश्रो कृषि तारा अवार्ड प्रदान गरिएको हो । तीन सदस्यीय छनौट समितिमा महामहिम इजराएली राजदूत Hanan Goder, डा. महाबिर पुन र डा. बिष्णु चापागाईं रहेका थिए ।

न्यौपानेलाई केहि दिन अघि कृषि ज्ञान केन्द्रले धादिङले पनि नगद सहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको थियो । उनले जीवनपुरका ७० रोपनी जग्गामा तरकारी खेती गर्दै आई रहेका छन् । यो ७० रोपानी जग्गा मध्य १५ रोपनीमा उनले टनेलमा तरकारी खेती गरेका छन् ।