धादिङ आउने फलफुलमा विषाधी हालिएको हुँदैन -घिमिरे

Avatar photo
Dhadingpost
बुधबार, अशोज २७, २०७८

धादिङ असोज २७ । धादिङबाट काठमाडौं गई फलफुलको होलसेल व्यवसाय गर्दै आएका पुरुषोत्तम घिमिरेले काठमाडौंबाट धादिङ पठाईएका फलफुलमा कुनै पनि विषाधी प्रयोग नगरिएको बताउँछन् । धादिङमा अधिकाँश फलफुल व्यवसायीले मेरै मण्डली फ्रुट सेन्टरबाट फलफूल लैजाने हुन्, ढुक्क भएर खाँदा हुन्छ पकाउनका लागि कुनै विषाधी हालिएको हुँदैन धादिङपोष्ट सँगको कुराकानीमा घिमिरेले बताए ।

किसानले बारीमा विषाधी हाल्नु भयो भएन थाहा भएन, तर हाम्रो कोल्ड स्टोरमा आएपछि काठको धुलो बालेर बन्द कोठामा वफाएर पकाउने गरिएको उनले बताए । काठमाडौंका होलसेल फलफुल विक्रेताहरु सबैले फलफुल पकाउनका लागि विषाधी प्रयोग नगर्ने निर्णय गरिएको र काठमाडौंबाट जाने फलफुलहरु सामान्य पानीले पखालेर खान सकिने उनी बताउँछन् ।

काठमाडौं भन्दा अन्यत्रबाट धादिङ जाने फलफुलको हकमा आफू जिम्मा नलिने तर काठमाडौंबाट धादिङमा जाने फलफुलमा पकाउन कुनै पनि विषाधी प्रयोग भएको हुँदैन । पकाउदा विषाधी राखेको हुन्छ भन्ने अहिले पनि आम मानिसमा परेको तर काठको धुलो सल्काएर बन्द कोठामा फलफुल पकाएर काठमाडौबाट धादिङ पठाईने गरेको उनी बताउँछन् ।

अहिले एसीबाट पनि फलफुल पकाउन सुरु गरिएको भएता पनि अधिकाँश थोक व्यवसायीहरुले काठको धुलोमा आगो बालेरै फलफुल पकाउने गरेका छन् । तर सिधै चाईना र भारतबाट आउने फलफुलहरु भने विषाधी हालेर पकाईनेहुँदा उपभोक्ताहरु चनाखो हुनुपर्ने मण्डली फ्रुटसेन्टर कुलेश्वर, बल्खु, पसल नम्बर ३ का संचालक समेत रहेका धादिङ सांकोषका पुरुषोत्तम घिमिरे बताउँछन् ।