दशैँ आयो

Avatar photo
Dhadingpost
आइतवार, अशोज २४, २०७८

कतै हाँसो खुसी होला, कतै पीडा बहेको छ
कतै आफन्त गुम्दैछन्, र कोरोना छिरेको छ
यसैमा के दशैँ मानौँ, भनौँ कस्ता शुभेच्छा ती
कसैका बा कतै आमा, कतै छोरा कतै छोरी।।१

विदेशी पीर त्यो अर्को, म आफैँ शोक छल्दैछु
जलेको लासझैँ आफू, उसै जीवन्त चल्दैछु
न आयो यो दशैँ मेरो, न आयो फूलपाती नै
नदेऊ है शुभेच्छा क्यै, भरी अश्रुस्थली मेरै ।।२

सबैको होस् भने जस्तै, दशैँको कामना मेरो
सबैको हुन्न सोचेझैँ, यही नै जिन्दगानी हो
नपोख्नू तिक्तता प्यारा, नगर्नू दुश्मनी झन् झन्
स्वयम् छन् धामका द्यौता, स्वयम् पूजा गरेका छन् ।।३

गुमाएँ मात्र आफन्ती, र पाएँ के मनाऊँ म
चुड्यो त्यो कालले माया, हियामा के जगाऊँ म
गरे पूजा भजेँ देवी, हिजो जस्तै सधै मैले
न टा-यौ बिध्न बाधा नै, थपेकै छस् नयाँ तैले ।।४

म झ्यालैमा बसी हेर्दा, सबैको कान छोप्ने जौ
छ रातो रङ्ग पोतेका, अनौठा वस्त्र ती लाखौँ
कतै लोग्ने मरेका छन्, कतै स्वास्नी मरेकी छिन्
कहाँ आयो दशैँ साथी, खुसी नै विर्सिएकी छिन् ।।५

दशैँको कामना गर्छौ, गरेकै लाग्छ राम्रो नि
कुनै संस्कार मान्दैछौँ, बुझे हुन्थ्यो कि हाम्रो नि
छिमेकीमा खसी ढाल्दा, कती दुख्ला छिमेकी नै
दशैँ आयो त के आयो, गरायो यो खुसी बेग्लै ।।