
काठमाडौं असोज १३ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । विश्व मुटु दिवसको अवसरमा बुधबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक तीन लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको र आगामी बैशाख भित्र सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाई सक्ने बताएका हुन् ।
‘करिब तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु। किनभने हामीले एक करोड ७७ लाख खोप ल्याइसकेका छौँ । यो दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु। हाल आएर एक दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ ।
फ्रन्टलाइनरहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ। १४ वटा हिमाली जिल्लाहरूमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ। बालबालिकाहरूका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ,’ उनले भने।