
धादिङ साउन १५ । पत्येक वर्ष साउन १५ गते लाई नेपालीहरुले खिर खाने पर्वको रुपमा मनाउने गर्दछन् ।
नेपाली समाजमा लोकप्रिय एउटा कथन चलिआएको छ, ‘असार १५ दही–चिउरा खानु, साउनको १५ खीर’ वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यहि चलन साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले असार महिनाभर धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा विकास भए सँगै त्यहि खुसियालमा साउन १५लाई खिर खाने परम्परा सुरु भएको संस्कृतिविद्हरु बताउँछन् ।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खानु उपयुक्त हुने बताईन्छ ।
हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरिने साउन १५ खिर खाने पर्वको रुपमा मनाउन थालिएको हो ।
गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।
दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन् । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ ।