
नुवाकोटको तारुका चौकीमा आक्रमण भएको आज २१ वर्ष पुरा भएको छ । यहिबाट मेरो युद्धको यात्रा सुरुवात भएको थियो । यी २१ वर्षमा युद्धका अनेकौं अरोह-अवरोहहरुको शृङ्खला छ्न् , तारुकाको लडाइँ मेरो पहिलो अनुभव हो ।
बम बरुदको धुँवा भित्र लुकामारी खेलेको पहिलोदिन थियो । जीवन मरणको पहिलो दिन थियो । त्यही भएर होला मेरो दिमाग भित्र तारुका चौकी आक्रमण ताजा भएर गुज्जीरहन्छ ।
जनयुद्ध र त्यस भित्र मेरो जीवन यात्राको कुरा गर्ने बित्तिकै सबैभन्दा सुरुमा तारुका लडाइँको याद आउँछ । कुनै युद्धको कथा, कहानी, इतिहास सुन्नसाथ तारुका लडाइँको सम्झना आउँछ । जनयुद्धको इतिहासमा तारुका लडाइँ एउटा विशिष्ट परिस्थितिमा भएको थियो ।
प्रहरी शक्ति माओवादी सँग पुर्णतः पराजयको सन्निकटमा थियो । मध्ये क्षेत्रमा एकैपटक ३ ठाँउ नुवाकोटको तारुका, लमजुङको बिचौर र गुल्मीको वामी टक्सरमा रहेको प्रहरी ब्यारेक माथी आक्रमण भएको थियो । राज्यको नजरमा माओवादीको शक्ति कमजोरी मानिने नुवाकोटमा सामारी चौकी आक्रमण पछिको दोस्रो ठुलो तारुका आक्रमण थियो ।
लडाइँ हामीले जित्ने पुर्ण विश्वास थियो यसका आधारहरु पहिलो, लडाइँ हाम्रो अनुकुलतमा, हाम्रो योजनामा थिए । दोस्रो, छापामार युद्धको सिद्धान्त अनुसार १ विरुद्ध १० र १० को विरुद्ध १ को सिद्धान्तमा हामी थियौं । तेस्रो, सम्पुर्ण फौजी क्षमतामा हामी बलिया थियौं र चौथो प्रहरीको मनोबल गिर्दो क्रम थियो र हाम्रो उच्च थियो । २ घण्टाको घमसान लडाइँ पछि तारुका र्इलाका प्रहरी चौकी माथी पुर्ण विजय भयो, त्यहाँ रहेका सम्पूर्ण हात(हतियार, युद्ध सामाग्री कब्जामा आयो । १० जना प्रहरी लडाइँको क्रममा मृत्यु भयो ।
हाम्रो तर्फ गणेश तामाङ (द्वन्दु) धादिङ, दार्खा र राजु दहाल (सागर) धादिङ, निलकण्ठको बलिदान भयो । द्वन्दु प्रतिभाशाली नेता थिए । उनी पार्टीको जिल्ला सदस्य थिए । सगर अथक सहसी सिपाही थिए । यी दुई योद्धाहरु सँगको छोटो सहकार्य अविस्मरणीय छ । यी दुई योद्धा माओवादी आन्दोलनको सच्चा माओवादी थिए ।
तारुका लडाइँको जित पछी यो क्षेत्रमा माओवादीले विजयको अभियान चलायो । तारुकामा आफ्नो प्रहरीको उद्घारमा भोलिपल्ट बिहानै डिएसपी बिक्रम सिंह थापा प्रहरी लिएर तारुकाघाट आइपुग्दा बिशाल नेतृत्वको एम्बुसमा परी घाइते भए पछि नुवाकोटमा प्रहरीको पुर्णतः मनोबल गिर्यो । नुवाकोट, धादिङमा प्रहरी शक्ति पराजय हुनपुग्यो ।
तारुकाको जित पछि नुवाकोटको त्रिशुली नदी भन्दा पश्चिम ३ नम्बर क्षेत्रमा रहेको सामारी, देउराली र सोले चौकी निशानामा थियोे तर हाम्रो टिम पुग्नु अगाडी नै प्रहरी ब्यारेक छोड्दै भग्न थाले । अभियान फेरि पुर्वी नुवाकोट तिर अगाडी बढ्यो । चोगदे र खरानीटारमा रहेको चौकीमा एकै पटक आक्रमणको तयारी हुँदा हुँदै जिल्लाभरको सम्पुर्ण प्रहरी शक्ति सदरमुकाम केन्द्रित भयो ।
अन्त्यमा, सदरमुकाम संगै जोडिएको तादी पुलमा रहेको प्रहरी चौकीमा दिउँसै कमण्डो आक्रमण गरि सफलता पुर्वक सम्पन्न गर्यो । त्यहाँ आक्रमणको समय १४ जना प्रहरी तैनाथ थिए । कुनै मानवीय क्षेती भएन । त्यहाँ रहेका सम्पुर्ण प्रहरी, हातहतियार, संचारसेट कब्जा भयो । सोही समयमा एकैपटक ढिकुरे र खरानीटारमा रहेको सरकारी बैंकहरु पनि कब्जा गर्न सफल भयौं ।
यो अभियान एउटा सन्दर्भ मात्रै थियो, अन्य दर्जनौं युद्ध शृङ्खलाहरु छ्न । जनयुद्धले उब्जाएक थुप्रै चिजहरु छ्न् । वर्तमान राज्य ब्यवस्थमा जनयुद्धको मुख्य देन छ । तर पनि माओवादी आन्दोलन र तिनका नायकहरुको उचित मुल्यांकन भएको छैन । आजको दिनमा जनयुद्धका हजारौं यात्रीहरु क्रान्तिकारी योद्धा भएर पनि केवल आफु र आफ्नो परिवारको निम्ति सिमित भएका छन् ।
घाइते योद्धाहरुले बाँच्नुको सार्थकता समेत दिन सकेको छैन, उनिहरुको दैनिकी गुजारा समेत निक्कै दयनीय छ । मृत्यु कुरेर छटपहट गरीरहेका छन् । यो सबै जनयुद्धको प्रमुख नेताहरूमा आएको बिचलन, कायरतापुर्ण आत्मसमर्पणको परिणाम हो । जनयुद्धको नेता र कमण्डरहरुको वर्ग, दैनिकी, रहनसहन, रवाफ फेरिए तर इमान्दार कार्यकर्ताहरुको दिन कहिल्यै फेरिना सकेन ।
दुनियाँ बदल्ने ओजपुर्ण सपनाहरू माथी कुठाराघात भयो । जनता माथी धोका भयो । तर पनि हामी कहिँ कति झुकेको छैन, इतिहासको एक जिवित साक्षीमा रूपमा उभिएर आफैंलाई महान गौरब ठन्दाछु । क्रान्तिका गद्दारहरु प्रती खबरदारी गर्दै तिनै महान सहिदहरु प्रति सलाम अर्पण गर्दछु ।