मुहार पुस्तिका

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २९, २०७८

के छैन यहाँ?
वैज्ञानिक युगको उपमा
लोक-तान्त्रिक
गण-तान्त्रिक राज्य-सत्ताको
ज्वलन्त उदाहरण
वाक् स्वतन्त्रता
व्यक्ति स्वतन्त्रता
समानता र समावेशीका चर्का नारा
पल-छिनका लागि सहारा
चकलेटी शब्द भण्डार
चञ्चल मिजास
चातुर्य खास
बग्रेल्ति विकृतिको
खुल्लमखुल्ला
लेन देन
के छैन यहाँ?
सबथोक छ
शान्तिका परेवाहरू
क्रान्तिका बारूदहरू
जातीयताका आवाजहरू
जातिवाद र नातावादका
स्वार्थहरू
स्तुतिको शङ्ख फुक्नेहरूको
जमात छैन कि!
खेमा खेमाबाट कुर्लिरहेको
धाक रवाफ
छैन कि
के छैन यहाँ?
कतै दूर दर्शिता

कतै दुर्दृष्टि
कतै छुल्याहा प्रवृत्ति
कतै प्रेम वृष्टि
कतै वासनाको सृष्टि
कतै ऐयाशी नै ऐयाशी
कतै अन्तहीन अभाव र
पीडा अनगिन्ती……….
२१ औँ शताब्दीको
यान्त्रिक जीवन-शैली
बेफुर्सदी पोष्टरहरूको
रङ्गीन चित्रकला
विज्ञापनका कर्कश लाउडस्पीकरहरू
मोहनीका मधुर शब्दजालहरू
यतिमात्र कहाँ हो र!
छचल्किएर पोखिएका
यौवनहरू कति कति
वेदनाका
दर्दनाक चित्कारसँगै
पश्चातापमा उर्लिएका
क्रन्दनहरू कति कति…
उज्यालो देखेर लोभिने
जूनकीरीहरू
स्वच्छन्दताका पंख फिँजाएर
नीलगगनमा बेफिक्री डुलिरहने
घामकीरीहरू
खरानी बनाउन उद्यत ज्वालाहरू
अस्मिता मेटाउन तत्पर लाभाहरू
हर्षातिरेकको तांडव नृत्यमा मग्न
सजीव कङ्कालहरू पो छैनन् कि
या घामका बैजनी किरणहरू छैनन्?
अमावसका काला रातहरू पो छैनन् कि
शरच्चन्द्रका शीतल चन्द्रिकाहरू छैनन्?
समवेदनाका कोरसहरू
हाइड्रोजन, अक्सिजन र फसफोरसहरू
चित्र विचित्रका मित्र भेटिन्छन्
मित्रभित्र अनेक चरित्र भेटिन्छन्
रेशमी आवरणभित्र लुकेका
नग्न-चित्र भेटिन्छन्…
के भेटिँदैन यहाँ?
मार्क्सको पूँजीवाद
डार्विनको विकास वाद
फ्रायडको मनोवाद..
एडिसनको उज्यालो…
सबथोक छ यहाँ
जे खोज्यो त्यही छ
जे सोच्यो त्यही हुन्छ….
दार्शनिकका दर्शनहरू
विचारकका विचारहरू
साहित्यकारका सिर्जनाहरू
कविका कल्पनाहरू
कलाकारका कलाकृतिहरू
वैज्ञानिकका खोज अनुसन्धान
आविष्कारहरू
जे चितायो उही मिल्छ
यो कल्प-तरू”मुहार-पुस्तिका”मा……..

उषा तिवारी
भरतपुर-३,नारायणगढ, चितवन, नेपाल ।