गणतन्त्र दिवसको हार्दिक शुभकामना

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १५, २०७८

गणतन्त्र ! आज हाम्रो हावापानी र माटोमा आगमन भएको दिन
स्वाभिमानी नेपालीले तिमीसंग धेरै आशावादी भएको दिन
सुख समृद्धी र विकासको गहन परिकल्पना भएको दिन
आहा ! कति राम्रो बोक्रा तिम्रो तर गुदीं नमिठो पो रहेछ
न्याय बिक्दोरहेछ, भ्रष्टाचारी टिक्दोरहेछ, कुर्सीको महत्व बढदो रहेछ
त्यसैले विवश भएर भन्दैछु, गणतन्त्र दिवसको हार्दिक शुभकामना ।

तिम्रो प्रवेशमा सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन हुन्छ भनेर
अफशोच ! तिमीले बर्गीय खाडल झन खनिदियौ,
लुट र कमिशनको धन्दा सिकाई दियौ
राजनीतिक संख्यात्मक जोड घटाऊ बिगारीदियौ
संभाव्यतालाई अदल बदल गरिदियौ
के यस्तै अपवित्र, अप्राकृतिक अदृश्य ‘केमिस्ट्रीमा’ अल्झीनुपर्ने ?
त्यसैले बाध्य भएर भन्दैछु, गणतन्त्र दिवसको हार्दिक शुभकामना ।

तिम्रो आगमनमा कत्ती आमाहरुको कोख रित्तीए
दिदीबहीनीका सिंदूर पुछिए, बालखाहरुको भरोसा मेटीए
तिम्रो ख़ुशीको लागि विवश भएर सहयौ,
अँध्यारो रातपछि उज्यालो दिनको पर्खाईमा
व्यवहार सुध्रीन्छ की भनेर, प्रणाली बदलिन्छ की भनेर
बिडम्बना ! वर्षे झरिमा उम्रेका च्याऊ जस्तै बोक्रेहरुलाई
सलामी र गुलामी गर्न सिकायौ, जसरी नी टिक्न र बिक्न सिकायौ
त्यसैले खुशफहमी हुदै भन्दैछु, गणतन्त्र दिवसको हार्दिक शुभकामना

नवराज अधिकारी
राप्ती-१, प्रतापपुर, चितवन ।