साँच्चै तिमीमा सन्देह छ

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ११, २०७८

तिम्रो ‘डि एन ए ‘मिल्ने , सन्तान छैनन क्यारे
श्री सम्पत्ति शेषपछि ट्रस्टलाई दान दियौ क्यारे
भ्रष्टाचार हुन पनि दिन्न गर्दा पनि गर्दिन भन्छौ क्यारे
तर तिम्रै वरिपरी झुण्ड मुण्डहरु कमिसन र धन्दामा भेटिन्छन क्यारे
त्यसैले साँच्चै तिमीमा सन्देह छ ।

बयलगाढा चढेर अमेरिका पुगिदैन भन्थ्यौ क्यारे
खप्पर बलियो भएर जुन धाराबाट पनि देशको नाइके भएका छौ क्यारे
देश र जनताको सेवामा समर्पित हुन सपथमा ‘त्यो पर्दैन’ भन्छ्यौ क्यारे
आजकल दिनमा भन्दा रातमा बढि सक्रिय देखिन्छ्यौ क्यारे
त्यसैले साँच्चै तिमीमा सन्देह छ ।

प्रतिपक्ष र फरकधारलाई कत्थक र टुक्का मार्फत ठाउको ठाउ ढाल्छौ क्यारे
बोलीमा निर्भीकता र स्पष्टता छ क्यारे
आफैले बोलेको आफैले नै काटछौ र छाटछौ क्यारे
सम्बृध्द नेपाल र सुखी नेपालीको तिम्रो नारामा झुक्यान देखिन्छ क्यारे
त्यसैले साँच्चै तिमीमा सन्देह छ ।

हनुमान र झोलेहरुले लाभ र शक्ति प्राप्तिका लागि
तिमिसँग विभिन्न साइनो लगाएका छन क्यारे
तर्क विज्ञान साहित्य र कलामा आफैलाई अब्बल दर्जाको मान्छ्यौ क्यारे
आफैले बिरोध गरेको बिधयक आफैले नै अध्यादेश मार्फ़त ल्याउछौ क्यारे
आफु टिक्न र आफनोलाई टिकाऊन वहुत कसरत गर्दछौ क्यारे
त्यसैले साँच्चै तिमीमा सन्देह छ ।

चुच्चे नक्शा केवल कागजमा मात्र ‘लन्च’ गर्यौ क्यारे
दिनमा भारतीय विस्तारवाद भन्ने रातमा भारतीय रअ लाई नै भेटछ्यौ क्यारे
स्वाभिमानी नेपाली अहिलेसम्म कसैको दास भएको छैन भन्छ्यौ क्यारे
सत्तामा टिक्नैको लागि काईते तिगडम गरिरहेका छौ क्यारे
त्यसैले साँच्चै तिमीमा सन्देह छ ।

नवराज अधिकारी
राप्ती-१, प्रतापपुर चितवन ।