
धादिङ बैशाख २२ । धादिङको ज्वालामुखी गाउँपालिका ४ स्थित ढोलामा रहेको ढोला मण्डलीमाईको मन्दिरमा महिला जान निशेध छ, महिलालाई न प्रशासन न स्थानीयले जान रोकेका हुन् । उक्त मन्दिरमा पुजा आजा गर्न होस् या प्रसाद ग्रहणमा महिलालाई सहभागि नगराईने चलन छ ।
हरेक मंगलबार पाठीको बलि दिईने उक्त मन्दिरमा पुजा आजा र प्रसाद ग्रहणका लागि पुरुष मात्रै जाने चलन छ । महिलाले भाकल गर्न सक्ने तर उक्त भाकल पुरा गर्नभने पुरुष नै मन्दिर जाने चलनको विषयमा एदाकदा महिला अधिकार कर्मीहरुले विभेदको आवाजहरु भने उठाउँदै नआएका भने होईनन् ।
ज्वालामुखी गाउँपालिकाको उप-प्रमुख जानुका सिंखडा मण्डली थानको पूर्वाधार निमार्णको अवलोकन गर्ने क्रममा मण्डली थान पुग्नु भएको छ । सिंखडाले फेसबुक स्टाटस लेख्दै ज्वालामुखी गाउपालीका वडा नं ४ मा अबस्थित ढोल मण्डली मन्दिरामा पहिलो चोटी पुगे जुन मन्दिरमा बाख्राको पाठीको भोग गरिन्छ तर महिलाहरुलाई प्रवेश निशेध गरीने परम्परा छ म त पुगे दिदी बैनीहरु तपाईहरु पनि पुगेर हेर्नू भनेर मन्दिर पुगेको जानकारी दिनु भएको हो ।
त्यसो त यस मन्दिरमा दलितहरुलाई पनि जान निशेध थियो । धादिङका दलित अगुवाहरुको चरणवद्ध आन्दोलन पछि अहिले भने खुल्ला रुपमा दलित समुदायले पनि यस मन्दिरमा पुजा आजा गर्दैआएका छन् ।
हाल, कोरोना भाईरसको कारण अर्को सूचना जारी नहुँदा सम्म उक्त मन्दिरमा हाल सर्वसाधरणको पुजा आजाको लागि खुल्ला छैन ।
ढोला मण्डली बारे जनाकारी
ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । २०४० साल ताका ढोला मंडली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन । जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो ।
रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पून रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो ।
रुखबाट रगत वगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो ।
अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे । त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यस पछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो । त्यही सर्प नै देबी रहेछ ।
त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खानै नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ ।