स्वाभिमान र भोका पेटहरु

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १४, २०७८

समीकरण

पूर्वी क्षितिजबाट शिशु घामको
लालिमा छाउनै लाग्दा
दक्षिणी वायु बेजोडले बहन्छ
धमिल्याउँछ आकाश
मडारिँदै कालो बादल
बर्सन्छ आगोका लप्काहरु
आँधी र तुफानका पहाडहरु
चट्याङका भीमकाय पहाडहरु
परन्तु,
ढल्दैन स्वाभिमानको पहाड
गल्दैन वीरताको इतिहास
डगमगाउँदैनन् आस्थाका सतिसालहरु

खुम्चिएको छ पेट
अझै भोकमै छ हुम्ला
भीख मागिरहेछ राज्य
नाङ्गै छ मधेश
विवश छ स्विकार्न,
एनजिओ/आइएनजिओका लत्ताकपडाहरु
खुल्ला आकाशमुनि उदाङ्गै छ मनाङ
चुलोमा पानी बर्सन्छ
ओछ्यानमा हिउँ खस्छ
सिङ्गै सूर्य पसारिन्छ मझेरीमा
तथापी,
आस्था ढलेको छैन
स्वाभिमान गलेको छैन
र त झुक्दैनन्
‘बलभद्रका सन्तानहरु !’

सुँकसुकाइरहेको छ सुस्ता
थाहा छैन,
कुन विहान ‘पारी’ परिन्छ !
कहिल्यै निर्धक्क सुतेन कालापानी
मुटुभरी बोकेर पीडा
गुन्गुनाउँदै वीरताका गाथा
पहिचान खोजिरहेछ लिम्पियाधुरा
असनको साँढेजस्तो
उन्मत्त शासक
भ्रम छरिरहेछ
आश्वासन बाँडिरहेछ
नक्कली राष्ट्रवादको फेरो समाएर
सक्कली चरीत्र देखाइरहेछ-
‘दक्षिणको निजी दुतको जस्तो’

काकाकूल छ पहाड
नून खोज्दैछ कर्नाली
स्वयम्भूका पेटीहरुमा
असरल्ल छन् अनगिन्ती बटुकाहरु
पिठ्यूँमा नानी बोकेर
तूइन तर्दैछिन् आङी
जनता भोकमा छन्
ऊ तृप्तिको कुरा गर्छ
जनता शोकमा छन्
ऊ उत्सवको गीत गाउँछ
जनता प्यासमा छन्
ऊ पानीजहाजको कथा सुनाउँछ

जतिसुकै उखान/टुक्का सुनाए पनि
महाशय,
हाँस्न सक्दारहेनछन्-
“भोका पेटहरु !”