धादिङका मिक्छेन तामाङ म्यान अफ द म्याच घोषित

Avatar photo
Dhadingpost
चैत्र ६, २०७७

धादिङ चैत्र ६ । नेपालगंजमा जारी प्रसिडेन्ट लिग अन्तरगत विहिबार भएको दोस्रो खेलमा धादिङका खेलाडी मिक्छेन तामाङ म्यान अफ द म्याच घोषित भएका छन् ।

यस प्रतियोगितामा एक खेल हारि सकेको लमजुङको त्रिवेणीले बागमती प्रदेशको धादिङ समाजमाथि ३–२ पुनरागमन जित निकालेको छ । त्रिवेणीको यो पहिलो जित हो । त्रिवेणीको जितमा विश्वास श्रेष्ठ, जय गुरुङ र कमल श्रेष्ठले गोल गरे । धादिङका अमिर श्रेष्ठ र मिक्छेन तामाङले गोल फर्काए ।

३७औं मिनेटमा अमिर श्रेष्ठको पेनाल्टी गोलबाट धादिङ समाजले अग्रता लिएको थियो । ४३औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा जय गुरुङले गोल गर्दै त्रिवेणीलाई २–१ को अग्रता दिलाए । ८८औं मिनेटमा कमल श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै त्रिवेणीलाई ३–१ को अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मिक्छेन तामाङले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्रिवेणी विजयी हुन सफल भयो ।

धादिङले जारी प्रसिडेन्ट लिगमा जुम्लालाई ९ १ को गोल अन्तरले हराएको थियो ।

विहिबार नै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक पुरा गरे । उनले नवौं, ३५औं र ८८औ मिनेटमा गोल गरे । जित सँगै धम्बोझीले लगातार दुई खेल जितेर ६ अंक जोडेको छ ।