सेर्तुङमा माघ ३० देखि रुवीभ्याली म्हेन्दोमाया प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने

Avatar photo
Dhadingpost
आइतवार, माघ २५, २०७७

सन्दिप स्याम्चेन,

धादिङ माघ २५ । रुवीभ्याली गाउँपालिका सेर्तुङमामा राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५७ सोनाम ल्होछारको अवसरमा बृहत म्हेन्दोमाया प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मानाईने सोनाम ल्होछारको अवसरमा हुन लागको उक्त कार्यक्रम माघ ३० गते देखि फाल्गुन २ गते सम्म हुनेछ । पूर्व गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा हुने यस कार्यक्रममा रुवीभ्याली गाउँपालिका अध्यक्ष चेरुङ तामाङ, उपाध्यक्ष बिना तामाङको लगायतको विशेष आतिथ्यता रहने छ ।

संस्कार र संस्कृतिको पहिचान, पहिचानलाई जगेर्ना रुबिभ्यालीको अभियान, भन्ने मुल नारा साथ गाउँपालिकाको आर्थिक सहयोग, सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको आयोजना उक्त कार्यक्रम हुन लागेको हो ।

तीन दिनसम्म हुने उक्त प्रतियोगितामा लामा नाच, झाक्री नाच, म्हानेदोरा नाच, डोका नाच, मारुनी नाच ताबु नाच, बोमोसोमो, साईखोले लगाएत गाउँपालिका स्तरिय महिला भलिबल प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि ख्यातिप्राप्त चर्चित कलाकारहरु म्हेन्दोमाया किङ सागर एस वाइबा, म्हेन्दोमाया कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा तामाङ नायक, नृत्य निर्देशक राज किङ वाइबा, बिकल तामाङ, आरम्भ तामाङ, रोज गोम्जा, देव थोकार, छिमी मम्बा तामाङ लगायतको उपस्थिति रहने बताईएको छ ।