स्मृतिमा रुबीध्यालीको चालीस गाउँ

Avatar photo
Dhadingpost
शनिबार, माघ ३, २०७७

स्वागतजस्तै न्यानो थियो विदाइ पनि!
साढे ६ बजे नै पेटभरि आलु दम, कोदोको सेल र चिया खुवाएर चालीसले बिदा दिएथ्यो हामीलाई।
गाउँका दिदीबहिनी र दाजुभाइले देवीस्थानसम्म आएर विदाइको टीका र खादा लगाइदिए। रातो टीका, रातै खादा। संयोगले हरियो खादा पहिरिन पाउनेमा म परेँ। मेरो रातो ज्याकेटसित अपूर्व संयोजन भयो हरियो रङ। प्रकृतिसित जोड्ने रङ पो हो त हरियो! रूबी भ्यालीसँग सन्निवेश भएको अनुभूत गरेँ मैले।

‘सँगै जाने होइन त काठमाडौँ’
बिचरी, मुख छोपेर हाँस्छिन्।
जिस्कन नजान्ने मेरा सहयात्री र लजाउन नजान्ने चालीसकी चेली!
‘अर्को पटक जाउँला नि!’
उनको मुखारबिन्दबाट यस्तो वाक्य निस्केपछि त उनकै आँखाको सागरमा पौडन खोज्छन् सहयात्रीहरू।
अर्काको रूप रङमा आँखा गाडेर मात्र के गर्नू! साँच्चिकै लान त गाह्रो पो छ त! केटा पक्षबाट रक्सीको पुङ लिएर केटीकोमा जानुपर्छ। केटीको बाउ, आमालाई पगरी र घलेक (क्रमु) दिनुपर्छ। तेनो कोर्सी गरेर छ सुका काटनुपर्ने चलन पनि थियो के रे। अहिले त के गर्छन् कुन्नि!
पन्ध्र मिनेट उक्लेर डिलमा पुगेपछि चालीसलाई फर्केर हेरेँ। प्रकृतिको आँगनमा छ–चालीस। चालीसको आँगनमा छ– प्रकृति। त्यहीँबाट देखिन्छ–माथिल्लो बस्ती सेर्तुङ र गणेश हिमाल–४ ले आकाशसित स्पर्श गरेको अद्भुत आकृति। चालीसकै सामुन्नेमा छन्– छातीमा रूबी लुकाएर लमतन्न्एिका विशालकाय डाँडाहरू। त्यसैको काखमा छन्– पर्यटनको किरण छड्के पर्ने स–साना बस्तीहरू। गाउँको बीचमा छ– चालीसको गर्भबाट निस्केको मनतातो पानीको जोर धारा। आज बिहानै उठेर त्यही धाराको पानीले तीन दिनदेखि शरीरमा जमिरहेको पसिना पखालेथेँ। आफ्नै गाउँको ‘टुकु ना हिटी’ को स्मरण भएथ्यो मलाई। हिउँदभरि न्यानो र गर्मीमा चिसो पानी आउँछ ‘टुकु ना हिटी’ मा। उहिले गोठालोबाट फर्कँदा यहीँ धाराको पानी टन्न पिएर भोक मेट्थ्यौँ हामी।
‘ऊ बेला चालीस घरधुरी भएर चालीस र साठी घरधुरी भएर सेर्तुङ भनिएको रे। अहिले त दुवै बस्ती विशाल भइसकेको छ,’ गाउँको नामको अर्थ खुलाए अम्वीरले।
खेतबारीका तरेली लडिरहेका छन्–बस्तीको वरिपरि। चारैतिरबाट पहाडले घेरेकोले छ। कचौराजस्तै देखिन्छ डिलबाट हेर्दा सेर्तुङलाई सिरान हालेर सुतिरहेको चालीस।
चालीसलाई चोट लाग्दा सेर्तुङलाई दुख्छ। तिप्लिङले मलम लगाइदिन्छ। चौपारीमा बसेर चालीसमा घन्केको रोदी सुन्छ– पारिको कामीगाउँले। त्यहीँ बसेर ऊ मारुनीमा रमाउँछ। घाँटु र सोरठीमा झुल्छ। पारिवारिक, रागात्मक, भावानात्मक र मित्रवत् सम्बन्ध छ– चालीस, सेर्तुङ, तिप्लिङ र कामीगाउँको बीचमा।
मैले धीत मरून्जेल हेरेँ चालीसलाई। विशेष थियो– यहाँको दुई रातको बसाइँ। यात्रा तीन दिनको भनिए पनि अस्तिको दिन चार–पाँचजना सहभागीहरू पाङसाङबाट चालीस आइपुग्न नसकेर तिप्लिङमै बसेका थिए। उनीहरूकै कारणले हिजो दिनभरि आराम गर्न पाइयो। नत्र हिजै काठमाडौं पुगिसकेका हुन्थ्यौँ हामी।
हामी उक्लँदै गर्दा कामीगाउँ हुँदै घाम ओर्लंदै थियो चालीसतिर। धन्न जोगिएर आएछु जस्तै लाग्यो अस्ति छाम्दै ओर्लेको त्यो भीर देख्दा।
‘चालीसको पुछारको बार्कर र सखली खोलामा ट्राउट (असला) फल्छ। यहाँ ‘फिसिङ टुरिज्म’ को पनि राम्रो सम्भावना छ। त्रिशूली नदीमा पाइने ट्राउट यहीँबाट पौडँदै जाने त हो,’ कुलबहादुर भन्छन्,‘सबै ट्राउट त्रिशूली गएर हो कि हिजो बल्छी खेल्न गएका किशोर श्रेष्ठको टोली रित्तै फर्किएका!’
आफू त ठट्यौलो पाराको मान्छे। दिल्लगी गर्न मन लाग्छ बेलाबेलामा।
‘तीन’टा माछा त हात पारेकै हुन् नि!’ आफ्नो भनाइको औचित्य सावित गर्छन् उनी।
धन्न एक–एकवटा त ल्याएछन् है? रमाइलो गर्ने मेरो अभिप्राय।
सोच्छु,‘पर्यटनको उज्यालो छिरेपछि त समृद्धिको उकालो उक्लने छन् चालीसबासीले।’
कुलबहादुर, तेजबहादुर, रङ्केस, चन्द्र र सिम्वीरलगायतका मित्रहरूको थातथलो हो– चालीस। ट्रेकिङ व्यवसायमा लागेका उनीहरू हरदम पर्यटनकै भावना छर्किरहेका हुन्छन्। प्रकृतिका सौन्दर्य सिर्काहरूमाझ मधुर मुस्कान फिँजाइरहेको चालीसमा कसो नआउला त त्यो दिन ? मनमनै गुन्छु म।
हाम्रो टोली सल्बलाइरहेको छ तेर्पायँ उकालीमा। ठूलो समूह भएपछि सबैसँग बोल्ने तारतम्य मिल्दो रहेनछ। उनीहरू फुर्सद हुँदा आफू फोटो लिइरहेको हुन्थेँ। आफू फुर्सद हुँदा कोण मिलाईमिलाई तस्बिर खिचिरहेका हुन्थे उनीहरू। कतिपयसँग त बोली मिसाउने मेसो नै मिलेन।

चालीस गाउँ छेलिएपछि पल्टन थाले स्मृतिका पानाहरू–
साँच्चिकै पाहुना भएको अनुभूति भएथ्यो चालीसमा। होमस्टेमा घरबेटी आमैले बिहानै कोठामा तातो पानी र चिया ल्याइदिएकी थिइन्। त्योभन्दा ठूलो सत्कार के हुन सक्छ? बिचरी बूढी आमालाई पाहुनाको सेवा गर्ने कत्रो रहर! हजुरआमाको विम्ब देखेथेँ मैले ती आमाको मुहारमा।
के यो ठाउँमा पर्यटनको उज्यालो ल्याउनका लागि भूमिका निर्वाह गर्न सकुँला त? आफैँलाई सोधेथेँ मैले।
जस घलेको घरको मिठो खाना। अम्वीरको काहिँला बाजेकोमा चपाएको मकै–भटमास र मुलाको थेबे। आँगनमा बसेर दिउँसै कोदोको दारुले आँत भिजाएका थियौँ हामीले। मेजमानीका ती उच्च चुलीहरू कहाँ बिर्सन सकिन्छ र! सरल जीवनशैली र मिठो बोलीवचन। चालीसबासीको रहनसहन र न्यानो आतिथ्यले प्रभावित भएथेँ म।
जस घलेको आँगनमा हामी बिहानको घाममा नुहाउँदै गर्दा तिप्लिङबाट सबैभन्दा पहिले आइपुगेकी थिइन् एक सहयात्री। एक ‘एभरेस्ट समिटियर’ हुन्– उनी। गत सालमात्र सगरमाथाको शिर चुमेकी थिइन् उनले। उनी थिइन्– पूर्णिमा श्रेष्ठ। नदेखेको मात्र हो। नामचाहिँ मैले सुनेको थिएँ। परिचय साट्ने मौका पाएँ मैले उनीसँग।

उनी नेपालको शान। नेपालीहरूको गौरव र गौरवशाली सेलिब्रिटी। उनीसँग तस्बिर लिन झुम्मियौँ हामी। झनै सेलिब्रिटी बनेथ्यो उनको गर्धन मुनि खोपिएको ट्याटु। ट्याटुमा थियो– ‘सगरमाथा र लोत्से’ र त्योभन्दा मुनि कुँदिएको थियो– सगरमाथाको उचाइ (८,८४८ मि.), आरोहण समय (८:१०) र दिनाङ्क (१९: ०५: २०१९)।

गणेश हिमाल आधार शिविरसम्म थियो उनको यात्रा। उनी जुन आधार शिविर जाँदै थिइन्, त्यहाँ सन् १९७८ को अक्टोबरमा चार जनाको जापानी टीमले मात्र पाइला टेकेका थिए।
‘अब त्यो आधार शिविरको नाम ‘पूर्णिमा बेस क्याम्प’ भनेर राख्नुपर्छ,’ सही विचार राखे तिलक लामाले।
समर्थन जनाएँ मैले।
‘छिट्टै अन्नपूर्ण आरोहणमा जाँदै छु,’ पूर्णिमाले सुनाइन्।
सफलताको कामना गरेँ मैले।

निँगालोको चोयाबाट डोको, डालो, मान्द्रो र भकारी बुन्दै गरेका पुरूषहरू। चोकहरूमा पोथी छेक्दै गरेका लोकल कुखुराका भाले। आँगनमा उफ्रिरहेका बाख्राका पाठापाठी। झोलुङ्गामा हल्लिरहेका अबोध नानीहरू। गोठमा उग्राइबसेका चौपाया। घर र चौपायाका पहरेदार बनेर बसेका वफादार भोटे कुकुर। आँखामा नाचिरहेका थिए ती पलपलका दृश्य।

गुरूङ–नेपालका आदिवासीमध्येको एक। आफ्नो गाउँठाउँमा आफ्नै किसिमको थिति बसाउने जाति। त्यसैले त भनिन्छ– राजाको नीति र गुरुङको थिति।

तमु पनि भनिन्छ गुरुङलाई। तमुको अर्थ लेकाली मानिस। त्यस्तै गुरुङ शब्द तिब्बती भाषाको ‘ग्रोङ’ शब्दबाट अपभ्रंश भएको हो भन्ने मत छ। ‘ग्रोङ’ को अर्थ उक्त भाषामा ‘कृषक’ हुन्छ।

गौरवशाली इतिहास बोकेका जाति हुन्– गुरुङ। अन्नपूर्ण हिमाली शृङ्खलाको दक्षिणी क्षेत्र लमजुङ, मनाङ, गोरखा, कास्की र स्याङ्जाका पहाडी भेग र मुस्ताङमा पनि पाइन्छ– गुरुङहरूको घना बस्ती।
‘लमजुङको घनपोखरा र घलेगाउँबाट बसाइँ सरेका रे यहाँका गुरुङहरू। हाम्रा बाजेबराजु चाहिँ कसरी वेत्रावती पुगेछन् कुन्नि,’ फुस्फुसाउँदै थिए अम्वीर।
नाचगानमा रमाउने जाति हो गुरुङ। जहाँ गुरुङको बस्ती हुन्छ त्यहाँ घन्किन्छ– रोधी र सोरठी। र, जाग्छ घाँटु। यी त तमुहरूको विशुद्ध पहिचान नै हुन्।
सन् २००६ मा अवलोकन भ्रमणकै सिलसिलामा लमजुङको घलेगाउँ र घनपोखरा पुगेको थिएँ। घलेगाउँमा रोधी र घनपोखरामा हेरेको थिएँ– घाँटु र सोरठी नाच। क्या रोमाञ्चक थियो !

गुरूङ जातिको आफ्नै विशेषताले भरिभराउ संस्कृति हो– घाँटुनाच।
याद आइरहेथ्यो त्यो बेला उनीहरूले हिमचुली, वरचुली, देवचुली आदिको आराधना गरी घाँटु जगाएको। नर्तकीहरू झुलेको, देउता चढेको र गीतबाटै ब्यूँझिएको।
एक्लै सुर झिक्ने गीत भएकोले यसलाई ‘घाँटु’ भनिएको रे। धार्मिक एवम् सांस्कृतिक भावनाले ओतप्रोत रहेको घाँटुनाचमा सामाजिक चालचलनसमेत निहित रहेकोले नेपाली समाजकै जीवन्त संस्कृति मान्न सकिन्छ।
मनमा लागिरहेको थियो, ‘पर्यटन व्यवसाय फस्टाउन सके पर्यटकलाई यहीँ नाच देखाएर पनि आर्थिक लाभ लिन सक्छन् चालीसबासीले।’
गुरूङ जातिमा प्रचलित पृथक किसिमको नाच हो– सोरठी। विशेषगरी यो नृत्य दशैँ र तिहारको बीचमा नाच्ने गरिन्छ।
त्यो बेला घनपोखराकै एकजना पाको मान्छेसँग सम्वाद हुँदा भनेका थिए, ‘सोरठी भनेको एउटा गीति कथा हो। यो नृत्यको कथावस्तु प्राचीनकालीन एक निःसन्तान राजाका सेरोफेरोमा केन्द्रित हुन्छ। कथामा उनका सातवटी रानीमध्येकी कान्छी रानीबाट छोरी जन्मिँदा अन्यले ईष्र्या गर्छन् र त्यो बच्चालाई मार्ने षडयन्त्र नै यसको कथावस्तु हो। उनीहरूले बालिकालाई षडयन्त्रपूर्वक खोलामा फालिदिन्छन्। एउटा माझीले फेला पार्छन्। र, षडयन्त्र पर्दाफास भएपछि दोषी रानीहरूले सजाय पाउँछन्।’
चालीसमा पनि घाँटु वा सोरठी नाच देखाउँछन् कि भन्ने लागेको थियो। त्यसको सट्टा मारूनी नाच हेरेर आनन्द लिएथेँ अघिल्लो साँझ।
मादलको ठोकनसँगै सुरू भयो गीत र भद्र पाराले शरीर मर्काउन थाले नर्तकहरूले। देवी वन्दनाको गीतसँगै नृत्य अगाडि बढ्यो। दुई जना नर्तकले लगाएका थिए– गुन्यूचोलो, हातमा चुरा र घाँटीमा तिलहरी। बीचमा थिए एकजना भिन्दै पोशाकमा। उनी थिए– आयोजक संस्थाका तेज गुरूङ। पछाडि थिए– गीत गाउने र मादल बनाउने दुई–दुई जना र झ्याली बजाउने एक जना।

मज्जाले हेरियो तेजले नाचेको मारुनी नाँच।
रामायण र महाभारतका गाथा गाएर अगाडि बढेको गीतको अन्तमा सरस्वतीको पूजा आराधना गरेर देवीबाट आशीर्वाद पाएको अभिनय गरी नियमपूर्वक टुङ्गियो नाच, मादलकै ठोकनमा।

आइपुग्यो मानेसहितको बिसौनी। अगाडि गाउँ आउँदै छ भन्ने सूचक पनि हो माने।
मानेमै अडेस लगाएर मैले बोकेको झोला र चालीसबाट हिँडेदेखिको थकाइलाई एकसाथ बिसाएँ। यहीँ सुस्ताउँछन्– भारी बोकेर चालीसबाट झरेका र बोर्लाङबाट उक्लेका बटुवाहरू। कतिले बिसाए होलान् रहरका भारी त कतिले बाध्यताका। कुनै दिन कुल र तेजले पनि बाध्यताका भारी बिसाएका थिए यही बिसौनीमा। आज रहरका थकाइ बिसाउँदै छन् उनीहरू। उनीहरूले झैँ यतिबेला म बिसाउँदै पनि थिएँ– खुसीको थकाइ। त्यहीबेला बैँसे घामले कुतकुती लगाउन आउँदा पानीपानी भएथेँ म।
भोकले सम्झाइरहेको बेला बोराङले लन्चका लागि बोलाइरहेको सुनियो। रोकिएनन् बिसौनीबाट उठेका पाइला घामको बिस्कुन सुकाइरहेको बोराङ नपुगी। त्यहाँ चलिरहेको वायुले लुङ्दरको तारबाट टुङ्नाको धुन निकालेको कल्पना गरिरहेकै बेला मेरो कानमा ठोक्किन आइपुग्यो साँच्चिकै टुङ्नाको धुनसहितको मार्मिक गीत–

‘उँधो त नेपाल म जाँदा
नेपाल जाने बाटोमा
पानीलाई खाने पँधेरो
सँगैको साथीभाइ संसारै घुम्दा
मलाई चाहिँ दिउँसै अँध्यारो……….’

लन्चपछि कुलबहादुरले भने, ‘डुन्डुरेसम्म हामी मिनी टाटामा जान्छौँ। हिँडनु र ट्रकमा जानु उतिउति नै हो। दुई घण्टा लाग्छ।’
चढ्यौँ ट्रक। चालकसँगै क्याबिनमा बस्ने सौभाग्य पाएका थियौँ तिलक लामा, भीम दाइ र मैले। चालीसमा लालमान गुरुङको होमस्टेको एउटै कोठामा सुतेका थियौँ– हामी तीन। संयोगले मिनी टाटामा पनि सँगै छौँ।
चालक विकास तामाङले हुइँक्याउँछन् मिनीटाटा। पहाडी सडक। दबिइसकेका छन् सडकमा बिछ्याइएका रोडा। ठाउँठाउँमा छन् अनगिन्ती खाल्डाखुल्डीहरू। भकुण्डो उफ्रेझैँ उफ्रिरहेको छ गाडी। चालकको मोबाइलमा घन्टी बजिरहन्छ छिनछिनमा। देब्रे हात मोबाइलमा। दाहिने हात स्टियरिङमा। मिनीटाटाको गति घट्दैन। अचम्भित भइरहेको थिएँ म उनको भङ्गिमा देखेर।
सडक साँघुरो भएकोले गाडीलाई मोड पुग्दो रहेनछ। घुम्तीमा पुग्दा गाडीको अगाडिको भागले सडक नाघेजस्तै लाग्ने। हंसले ठाउँ छोडिसकेको थियो मेरो। मनले भनिरहेको थियो, ‘नखन्नु सडक खनेपछि अलि फराकिलो त बनाउनू नि!’
‘ॐ आ हुङ गुरू पेमे सिद्दि हुङ…,’ मन्त्र वाचन गरे तिलकजीले। एक पटक, दुई पटकमात्र होइन, उनको मुखबाट निरन्तर उहीँ शब्द दोहोरिन थालेपछि लाग्यो– ‘मैले मनमनै राम… राम… भनेको जस्तै होला!’

त्रासका तरङ्ग छाइरहेका थिए उनको चेहरामा। भयरहित त कहाँ थिएँ र म पनि !
मिनीटाटालाई ब्याक गरीगरी अगाडि बढाउँछन् चालक। झस्किन्छौँ हामी। नझस्किनु पनि कसरी ! यस्तो भीरमा छ यति साँघुरो नागबेली सडक। कतै तल बगिरहेको लिस्ने खोलामा माछा मार्न पुगिन्छ कि जस्तै लाग्ने।
‘भाइ ब्रेक लगाऊ, ब्रेक!’, भयकम्प हुँदै भन्छन् तिलकजी।
‘नडराउनुस् सर! यो सडकमा गाडी चलाउने बानी परिसक्यो। म तपाईहरूलाई सही सलामत पुर्‍याउँछु पुर्‍याउँछु, भएन र?,’ हामीलाई आश्वस्त पार्न खोज्छन् चालक।
‘यसरी भगवानको नाम जपीजपी गाडी चढ्नुभन्दा त गोडा दुखे पनि हिँड्नु नै बेस, होइन त तिलकजी?,’ म सोध्छु।
‘हो नि! कम्तीमा मरिएला कि भन्ने भय त हुँदैन। कस्ता इन्जिनियर होलान्। यो सडकलाई तलतलै लगेर चालीस उकालेको भए हुन्थ्यो नि,’ मुख खोले तिलकजीले।
‘त्यहीँ त नि सर! तर के गर्नू। सबै गाउँ छुवाएर सडक लानुपर्ने बाध्यता छ नि त फेरि,’ मोबाइलमा बजेको घन्टीको बेवास्ता गर्दै चालक बोल्छन्।
उनी थप्छन्, ‘सडक बनेको भए पनि चल्ने त छ महिना मात्र हो।’
‘बाँकी छ महिना के गछौँ त?,’ मेरो प्रश्न।
‘खेतीपाती।’
‘घर कहाँ हो नि?’
‘त्यहीँ पर दार्खा।’
ट्रेकिङ व्यवसायमा लागेर चिनाजानी भएको धेरै भयो तिलकजीसँग। भावना दुरूस्तै मिल्छ उनको र मेरो। यसरी सँगै पदयात्रा गर्ने मौका मिलेको थिएन हामीलाई। गणेश हिमाल पर्यटन विकास समितिले जुरायो यो सुनौलो मौका।
कुनै बेला ‘टान’ कार्यसमितिको सदस्य भएर काम गरिसकेका व्यवसायी हुन् उनी। ‘टान’ का यावत् ‘मुद्दा’ र ‘मार्गचित्र’ लाई सम्बन्धित निकायमा सही ढङ्गले प्रस्तुत गर्ने हैसियत राख्छन् उनी। तर, ‘टान’ को नेतृत्व गर्ने चाहना भने कहिल्यै राखेनन् वा राख्नै चाहेनन् उनले।
तिलकजीले ‘ॐ आ हुङ गुरूपेमे सिद्दि हुङ’ र मैले रामको नाम जप्दै गर्दा आइपुग्यो डुन्डुरे। आँखा–आँखा बोले हामी दुवैको, ‘सफलतापूर्वक एउटा साहसिक यात्रा पूरा गर्‍यौं’ भनेर।
मिनीटाटाबाट ओर्लनुअघि उनले भने– ‘हिमालयन हाइल्यान्ड अफ–रोड एडभेन्चर ट्रिपका लागि प्रयोगमा ल्याउन सकिन्छ यो सडकलाई।’
डुन्डुरेमा पर्खिरहेका थिए– जीप चालक राजु थापा। कान्छी फकाउने गीतहरू सुनाउँदै सही सलामत पुर्‍याइदिए उनले धादिङबेसी। धादिङबेसी त्यही ठाउँ हो, जहाँ सन् १९९९ मा मेरो जीवनकै पहिलो पदयात्रा टुङ्गिएको थियो।

(रुबीभ्यालीको भ्रमण पछि राजेन्द्र एम डंगोलले लेख्नुभएको यो खवर हामीले सेतोपाटीबाट साभार गरेका हौं ।)