गजुरी हाँगेटारमा चेपाङ किशोरीका लागि छात्राबास भवन निमार्ण सुरु

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७७

धादिङ मंसिर २४ । धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ को हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न चेपाङ छात्राबास भवन बन्ने भएको छ ।

प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीता तथा जिल्ला समन्वय समिति धादिङ, गजुरी गाउँपालिका धादिङ र नेपाल चेपाङ संघ धादिङको समन्वयमा ३० जना बस्ने क्षमता भएको छात्राबास भवन बनाउन सुरु गरेको हो । उक्त छात्राबास भवनको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बुधबार शिलन्यास गर्नु भए सँगै निमार्ण कार्य सुरु भएको हो ।

४.५ क्षेत्रफलमा छात्राबास भवन, भान्सा तथा डाईनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पाले घर सहितको भवन १ करोड १५ लाखको लागतमा निर्माण गर्न लागिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना, नेपाल चेपाङ संघका सचिव कृष्ण बहादुर चेपाङ, लगायतको आतिथ्यता रहेको थियो ।