धादिङ । पहाडी जिल्ला धादिङमा २०७२ वैशाखको भूकम्पले ठूलो क्षति पु-यायो । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश मौलिक डिजाइनका घर भत्किए । दुःख गरेर आफ्नै खर्चमा माटो सुहाउँदो घर बनाएका स्थानीय त्यसमै सन्तुष्ट पनि थिए ।
अधिकांश घरहरू दुई तले थिए भने केही घरहरू मात्र एक तले नै भए पनि हेर्दा चिटिक्क देखिन्थे र उत्तिकै कामयावी पनि । एक तले घरमा समेत बार्दली हालेका स्थानीयको दुई तले घरमा झन नहुने कुरै थिएन ।
बार्दलीसहितका घरहरू किसानमैत्री पनि थिए । किसानले अन्नपात राख्न र परिवारका सदस्यहरू सहजरूपमा बस्न पुग्ने गरी बनाइएका ति घरहरू अहिले इतिहास भइसकेका छन् । तथ्यांकअनुसार भूकम्पले धादिङका ८१ हजार ३१३ मौलिक घरहरू ढले ।
भूकम्पले मौलिक घरहरू भत्काएपछि सरकारी अनुदानमा घर बन्ने क्रम सुरु भयो । अनुदानका घर भने भुइँ तले र दुई कोठेमा सीमित छन् । स्थानीयले यसलाई पटक्कै रुचाएका छैनन् ।
आफैं घर बनाउनसक्ने हैसियत भएका भूकम्पपीडित पनि पुनर्निर्माण प्राधिकरणले डिजाइन गरेको घरको नक्साअनुसार निर्माण गर्दा यतिबेला निराश बन्न पुगेका छन् ।
बाहिरबाट हेर्दा भूकम्पपछि निर्माण भएका अधिकांश घर सिमेण्टेड छन् भने छानो पनि जस्तापाताकै प्रयोग गरिएको छ । तर, अधिकांश घरहरू चोटो (तला नभएको) नछापेको र सिमेन्ट लगाएकाले गर्मी समयमा ज्यादा तातो र चिसो समयमा ज्यादा चिसो हुने समस्याले छ । यसले आम मानिसलाई बिरामी बनाएको छ भने यी घरहरु किसानमैत्री पनि हुन सकेका छैनन् ।
प्राय सबै घरमा अन्नपात भण्डारण गर्न मिल्ने अवस्थासमेत छैन । किसानले वर्षभरीलाई पुग्ने अन्न आफ्नै घरमा भण्डारण गरेर राख्नुपर्ने, सिजनअनुसार बीउबिजन राख्नुपर्ने आवश्यकता रहे पनि अहिले बनेका घरमा अन्नपात कुहिएर जाने, भकारीमै उम्रने लगायतका समस्या थपिएको छ ।
अहिले अधिकांश स्थानीय ‘हलो मासेर मुङ्ग्रो’ बनाएको जस्तो भएको गुनासो गर्छन् । पुरानो घरहरू मासिएसँगै नयाँ बनेका घरहरू कामकाजी बन्न सकेका छैनन् । प्राधिकरणले बिनाअध्ययन घरका नक्शा दिएको र त्यो नक्शा जनताले रुचाएका छैनन् ।
यसैले बनाइएका घरहरू पनि सबैले स्वामित्व ग्रहण गर्न सकेका छैनन् । कसैले खोस्टा पराल, घाँस दाँउरा राखेका छन् भने कसैले भान्छा कोठा बनाएको छन् । राज्यले तीन लाख र प्रविधिक सहयोग दिएर आफूअनुकुल वा मौलिक परम्पराका घरहरू बनाउन दिएको भए पुनःनिर्माण जनतामैत्री हुन्थ्यो भन्छन् ज्वालामुखी गाँउपालिका वडा नं. ५ का वडाअध्यक्ष कृष्णप्रसाद काप्री । पुनःनिर्माण प्राधिकरणको अंकुशले गर्दा निजी आवास पुनःनिर्माण सफल हुन नसकेको र कयौंले किस्ता लिनमात्र घर बनाएको उनको भनाइ छ ।
२०७२ को भूकम्पबाट क्षति भएकामध्ये धादिङ जिल्लामा लाभग्राही कायम भएकाहरूको संख्या ८४ हजार ७६२ रहेको छ । पाँच वर्ष अवधिसम्म ८१ हजार ५० जनाले निजी आवास पुनःनिर्माण गर्न सम्झौता गरिसकेकामध्ये निजी आवास पुनर्निर्माण गर्न पाउने ७६ हजार ६ सय १० जना र प्रवलीकरण गर्ने ३ हजार ७ सय १० रहेका छन् ।
भदौ मसान्तसम्म ८० हजार ३ सय २० जनाले पहिलो किस्ता लिइसकेका छन् भने ७१ हजार ३ सय ९९ जनाले दोस्रो किस्ता र ६४ हजार ७ सय २६ जनाले तेस्रो किस्ता रकम लिइसकेका अनुदान व्यवस्था तथा स्थानीय पूर्वाधार कार्यालय धादिङका दिपेन्द्र पौडेलले बताए । भूकम्प गएको पाँच वर्ष वितिसकेको अवस्थामा अहिलेसम्म धादिङमा ५३ हजार ३ सय २० वटा घर निर्माण भइसकेका छन् भने १८ हजार ७ सय २६ घर निमार्णधिन) अवस्थामा रहेको छ ।
पुनःनिर्माण र प्रवलीकरण गर्न पाउनेहरू मध्ये तीन हजार छ सय ८२ जना जिल्ला कार्यान्वयन इकाईको सम्र्पकमा आएका छैनन् । राजेन्द्र बस्नेतले लेख्नु भएको यो खवर कोरोवार दैनिकमा प्रकाशित छ ।