धादिङ मंसिर १२ । गजुरी गाउँपालिका उप-प्रमुख सिता ढुङ्गानाले महिला पुरुष संगै हिड्न सक्ने समाज निर्माण गर्नुपर्ने बताउनु भएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गजुरीमा भएको हिंसा न्यूनिकरणको उपाय र सुधार योजना विषयक अन्तरक्रियालाई सम्बोधन गदैं उप-प्रमुख ढुङ्गानाले उक्त कुरा बताउनु भएको भएको हो ।
हामी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विगत केहि वर्ष देखि मनाई रहेका छौं तर समाजमा हिंसाका घटनाहरु घटेको घटै छ । यसका लागि सचेत आम नागरीकहरुले निगरानी राख्नु पर्ने र उजुरी परेका घटनाहरुलाई कडाईका साथ कानुनी कार्वाही गर्नुपर्ने समेत उहाँले बताउनु भएको थियो ।
गजुरी गाउँपालिका स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका संयोजक प्रहरी उपरिक्षक युवराज खड्काको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रम उप प्रमुख ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा गजुरी गाउँपालिकाका जनप्रतिनीधिहरु, विद्यालयका प्र.अ., क्याम्पस प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्यकर्मी, अधिकारकर्मी, स्थानीय संघ संस्थाका प्रमुख एवम्ु प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।