कृष्ण बहादुर महरा पत्निको कोरोना संक्रमणबाट निधन

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७७

काठमाडौं कार्तिक १९ । नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा श्रीमती सिता महराको कोरोना संक्रमणबाट निधन भएको छ । माइस्थेनिया रोगबाट पीडित उहँलाई केहि दिन पहिला उपचारकालागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याईएको थियो ।

राजधानीको नर्भिक अस्पतालमा सघन कक्षमा राखेर उपचार गराइँदै आएकोमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखिएको थियो ।

सीता महराबारे संक्षिप्त चिनारी

सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिनुभएको थियो। कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उहाँका दुई छोरा र दुई छोरी रहेका छन्।

महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल हुनुभएको थियो। त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्नुभएको थियो।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।