अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा गल्छी–केरुङ प्रशारणलाइनबारे छलफल हुने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १६, २०७७

काठमाडौं कार्तिक १६ । चीनको राजधानी बेइजिङमा नोभेम्बर १० तारिखमा आयोजना हुने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा धादिङको गल्छी देखि रसुवाको केरुङ प्रशारणलाइनबारे छलफल हुने भएको छ ।

‘इन्टरनेशनल फोरम फर इनर्जी ट्रान्जिसन २०२० : सस्टनेबल डेभलपमेन्ट इन द पोस्ट कोभिड–१९ इरा’ विश्व सम्मेलनमा गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रशारण लाइनबारे छलफल हुने भएको हो ।

उक्त विश्व सम्मेलनमा चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले बेइजिङमा भौतिक सहभागिता जनाउनुहुने छ भने भिडियो कन्फ्रेन्समार्फत् ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरु जोडिनेछन् ।

गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रशारणलाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार नेपालका तर्फबाट यही आयोजनाका बारेमा छलफल हुनेछ भन्ने सम्भवतः कार्यपत्र पनि प्रस्तुत हुनेछ। कोभिड- १९ महामारीपछिको अवस्थामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि ऊर्जा क्षेत्रको विश्वव्यापी पहुँचबारे छलफल गर्न लागिएको उक्त सम्मेलनमा नेपालको तर्फबाट यो आयोजनामाथि बृहत छलफल हुनेछ।

‘त्यो कन्फ्रेन्समा हामीले गल्छी–रसुवागडी–केरुङ प्रशारणलाइनको कुरा उठाउन भनेर राजदूतसँग भनिसकेका छौं‚’ आत्रेयले भन्नुभयो, ‘अन्तरदेशीय प्रशारणलाइन आयोजना बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी स्टेट ग्रिड कर्पोरेसन अफ चाईनाले आयोजना गरेको सम्मेलन भएका कारण पनि यसमा महत्वपूर्ण छलफल हुने र केहि नयाँ उपलब्धी हुनसक्नेमा आशावादी छौं।’