दशैंको आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ८, २०७७

काठमाडौं कार्तिक ८ । हिन्दुहरुको महान पर्व बडादशैंको आज आठौं दिन देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।

कोरोना महामारीले उल्लास पूर्ण बन्न नसकेको यस वर्षको दशैं जो जहाँ छ त्यहि मान्ने गरी नेपालीहरुले रित पूर्वक दशै मनाउन सुरु गरेका छन् । आज काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ ।

दशैंघर तथा जमरा राखिएको कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ। साथै, फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ।

पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् ।