विजया दशमीको सातौं दिन आज फुलपाती

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ७, २०७७

धादिङ कार्तिक ७ । बडादशैंको आज सातौं दिन फुलपाती । धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघर घरमा भित्र्याईन्छ ।

दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ ।

गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपातीलाई नेपाली सेना तथा प्रहरीको पल्टन, निजामती उच्चपदस्थ कर्मचारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा सहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ बसन्तपुर हनुमानढोका स्थित दशैंघरमा भित्र्याउँछन् ।

फूलपातीसंगै दसैं पूर्णरुपमा सुरु हुन्छ । फुलपातीका दिनदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संघसंस्थाहरु विदा हुने गर्दछन् । यसो हुँदा मानिसहरु फुर्सदिला भई टाढाटाढा रहेका आफ्ना घर जाने मौका पाउँछन् । दशैं मान्न घर फर्किनेहरूको भिडले यातायात साधन भरिभराउ हुन जान्छन् ।

बजारहरुमा विशेष चहलपहल सुरु हुने र नयाँनयाँ अनुहारका मानिसको आवतजावतले रमाईलो अनुभूति गराउँदछ । फूलपातीकै दिनदेखि गाउँघर शहरबजारमा रोटे र लिङ्गे पिङ हाल्न थालिन्छ ।