अक्टोबर ९ अर्थात् जताततै चे

Avatar photo
Dhadingpost
अशोज २३, २०७७

“क्रान्ति कुनै रुखमा फलेको स्याउ होइन, जुन पाक्छ र झर्छ, यसका लागि त उचित वातावरण तयार गर्नुपर्छ !” -चे ग्वेभारा

अर्जेन्टिनामा १४ जुन १९२८ मा जन्मिएका मार्क्सवादी लेखक तथा क्रान्तिको माध्यमबाट संसार हल्लाउने सर्वहाराका सर्वप्रिय नायक चे ग्वेभाराको अमेरिकी साम्राज्यवादद्वारा हत्या भएको आज ५३ वर्ष पुग्यो । विशेष गरि मेक्सिको भ्रमण पछि गरिब तथा तल्लो वर्गको उत्थानका निमित्त क्रान्ति अपरिहार्य रहेको निष्कर्षमा पुगेका उनले फिडेल क्यास्ट्रोसँगको भेटघाट पछी क्यूबाली क्रान्तिमा सकृय योगदान दिंदै क्यूबाली क्रान्तिलाई सफल बनाएका थिए । जसका कारण अमेरिकी दास गठबन्धन बटिस्टा सरकार ढलेको थियो ।

उनले ल्याटिन अमेरिकी देशहरुमा विद्यमान रहेको शासकिय बेथितिहरु चिर्नका लागि क्रान्तिको राँको बाले । विभिन्न देश चहारे, जनताहरुलाई जागरुक बनाए । मुख्यत: उपनिवेशवाद र साम्राज्यवादबाट ग्रसित विपन्न राष्ट्रहरुलाई स्वतन्त्र बनाएर स्वाधिनता रक्षा गर्ने सवालमा चेले महत्त्वपूर्ण भुमिका निभाए । यसैकारण त क्रान्तिमा होमिएका क्रान्तिवीरहरु चेलाई आदर्श मान्छन् ।

क्यूबाली क्रान्ति पश्चात चेले नयाँ सरकारमा केन्द्रिय बैंकको अध्यक्ष तथा उद्योग मन्त्रालय सम्हाले, त्यो पनि तलब नलिएरै । सारा विश्वमा घुमेर क्यूबाको समाजवादको लागि अन्तर्राष्ट्रिय समर्थन पनि जुटाए । अन्तर्राष्ट्रिय स्तरमा पनि क्रान्तिको बिगुल फुक्न चेले क्यूबाली मन्त्री पद छोडी अफ्रिकाको कङ्गोमा क्रान्तिको प्रयास गरे तर त्यो विफल भयो ।

त्यस्तै यसपछी उनी बोलिभिया तर्फ लागे । चेको बढ्दो लोकप्रियता र आफ्नो खस्किदो उपस्थितिले झस्किएको अमेरिकी साम्राज्यवादले सिआइएको प्रयोग गरेर अन्तत: बोलोभियाको जङ्गलमा भएको भयानक भिडन्तमा पक्राउ परेका चेलाई ला हिग्वारामा गोली हानी मार्यो ।

यसरी हत्या गरिएका चेको दुवै हात काटेर अमेरिकाले लुकायो । मृत शरिरको फोटो प्रदर्शन गरेर संसारभरका क्रान्तिकारीहरुलाई तर्साउने कोसिस गर्यो । तर, चेको मुहारलाई अहिले वामपन्थी विचारधारा बोक्ने समूहले ‘सिम्बोल’को रुपमा लिईरहेको छ । चेको तस्विर स्वंयले अन्याय र अत्याचारका विरुद्ध क्रान्ति आरम्भ गर्न निर्देशन गरिरहेको छ । तर दूर्भाग्य जुन पुँजीवादको विरुद्धमा चेले आफ्नो सम्पूर्ण शक्ति खर्च गरे, त्यही पुँजीवादले चेको तस्विर अंकित स्टिकर, टि-सर्टको कालोबजारी गरेर समाजवाद र साम्यवादलाई हाँक दिईरहेको छ । चेको नाममा बजारवादले पार्टी, सेमिनार आयोजना गर्ने तर व्यवहारमा सामन्ती सोँच लादेर चेकै आदर्शलाई कुल्चिरहेका छन् ।

नेपालको हकमा हेर्ने हो भने कम्युनिस्ट भनिएका पार्टीहरुले नै चेको विचार, आदर्श र निष्ठालाई अपमान गरिरहेका छन् । बोली र व्यवहारमा एकरुपता नभएका स्वघोषित कम्युनिस्टहरुले कि त आफू कम्युनिस्ट नभएको बताउनुपर्छ या त चेको पदचाप पछ्याउँदै त्याग र निष्ठाको उदाहरण पेश गर्न सक्नुपर्छ ।

क्यूबाली क्रान्तिको अन्तिम मोडमा सान्ता क्लारा सहर कब्जा गरेपछी दुश्मनबाट खोसेको कारमा जब एक लडाकु कमाण्डर चढेर हुइंकिन्छन् तब चेले उसलाइ रोक्दै यो जनताको सम्पत्ति भएको र यसको गलत प्रयोग नगर्न दिएको निर्देशनबाट सत्ता र भत्तामा रम्ने नक्कली नेपाली कम्युनिस्टहरुले पाठ सिक्नै पर्छ । त्यस्तै खाइपाई आइरहेको मन्त्री पद एकाएक छोडेर विश्वक्रान्तिका लागि पुन: अगाडि बढ्ने चेको अगाडि हाम्रा नेताहरुको रवैया एकदमै तल्लो स्तरको देखिन्छ ।

लाभको पद लिन तछाडमछाड गर्ने प्रवृत्तीले गाँजेको छ नेपाली राजनीतिलाई । चुनाव हारे पनि अनेक तिकडम गरेर सभासद देखि मन्त्री पद सम्म पड्काउन हाम्रा नेताहरुलाई अलिकती पनि शरम लाग्दैन । चेलाई आदर्श मानेर पार्टीको बैठक कोठामा फोटो टाँसेर मात्र चे प्रती सच्चा श्रद्धाञ्जली हुनै सक्दैन । व्यवहारमा चेको विचारलाई लागु गर्न सके मात्र चेको बलिदानले अर्थ राख्दछ ।

आज विश्वमा वर्गीय लँडाई जारी नै छ । हुने खाने र हुदाँ खाने बिच अन्तर्सङ्घर्ष भइ नै राखेको छ । विशेष गरि बोल्न नसक्ने निहत्था, कमजोर राष्ट्रहरुलाई शक्तिशाली राष्ट्रहरुले चरम शोषणमा राखिरहेका छन् ।

हामी सामु साझा चुनौती छ; हामी दास बन्ने या स्वाधिन नागरिक बन्ने?? उपनिवेशवादको ताराबाजी लै लै गाउने या अन्यायको विरुद्ध मुठ्ठी कस्ने ? चे को जिवनीबाट गतिलो पाठ लिने हो भने जहाँसुकै अन्याय, अत्याचार र शोषण होस्, हामीले निरन्तर आवाजको हतियार उठाउनुपर्छ ।

एउटा भौतिक शरीर ढल्दा अरु थुप्रै लडेका सुनौला सपनाहरु उठ्न सक्छन् भने मर्नु डराउनुहुन्न । चेका प्रगतिशील विचारहरुलाई आफ्नै जीवनमा लागू गरि क्रान्तिको मूलधारमा समाहित हुन सक्नु नै २१औं शताब्दिको समाजवाद र साम्यवाद प्राप्तिको असरदार बाटो हो ।

यहि तथ्यलाई हृदयङ्गम गर्दै सर्वहाराको हकहितका निमित्त निरन्तर क्रियाशिल हुनु नै आजको मूलभुत आवश्यकता हो । विश्वक्रान्तिका महानायकप्रती हार्दिक श्रद्धाञ्जली !!