कविता

Avatar photo
Dhadingpost
आइतवार, अशोज १८, २०७७

आमा जूनी आमाको घर गए देखि

आमा !
तिमि हुँदा स्वर्ग तुल्य जीवन,
नहुँदा, प्रचण्ड गर्मीमा,
पिच सडकमा लामो यात्रामा
निस्कदा कसैले माथिबाट
टन्टलापुर धूपमा छाता हटाइदिए जस्तो चर्को भएको छ जीवन।
आमा !
छ न त तिम्रा खेतका गरा झै चिरा-चिरा परेका कुर्कुच्चाले टेकेका बाटाहरु उस्तै छन,
सधैं अँधेरीमा पधेंरी पुग्ने बाङ्गा टिङ्गा मसिना दुब्ला उकाला र ओरालाहरु उस्तै छ्न ,
मेला पात उसै गरी हुन्छ,
तर बाटाभरी परेका धुलोमाथिका पदचापहरु
निकै अस्पष्ट र अधुरा छन।
मैले बोलाउदा बोल्दैनन।
तिम्रा जस्ता प्रष्ट र ढुक्क छैनन।
मलाई ननिको लाग्छ।
आमा !
तिमी त मेरो छ वटै ऋतुहरु थियौ,
तिनीहरुले दिने अनुभूतिहरु जम्मै थियौ,
म भुल्दथ्यें, हराँउदथें तिमी भित्र ।
आज मलाई तिमी बिना यी सब ऋतुहरुले पलपलमा बेग्ला बेग्लै अनुभूतिहरु दिन्छन,
म तिनीहरु भित्र हराँउन पनि सक्दिन,
आफैं भूलाउन पनि सक्दिन,
केवल आँसु खसाल्न सक्छु, रुन सक्छु ।
छितिजका रङी बिरङ्गी बादलका ढिकाहरु तिम्रा स्नेहका ढिका जस्तै थिए,
आज लाग्दैनन त्यति स्वप्निल ।
बरु काला लाग्छन, डरले भरिएका जस्ता मानौ ती काल का दूतहरु हुन ।
आमा !
घरमा बेलुकी पख र बिहानी पख उस्तै दियो बलिरहन्छ, जस्तो तिमिले बाल्दथ्यौ
तिमी गए देखि दियोले चम्किलो दिदैन प्रकाश मेरो हृदयमा, छट्पटी जस्तै केही दिन्छ ।
आमा !
उसैगरी फुल्छन आगनीमा मखमली र हजारी फुलहरु,
जसरी फुल्दथे तिम्रो मनमा मेरालागि हजारौं खुशीहरु ।
जब मैले मेरो मनमा तिम्रो लागि पनि हजारौं खुशीहरु उमार्ने विउहरु छरे,
तिमी गयौ, म भत्किए, खुशीहरु फलाउन सकिन ।
आमा !
माटो मा सुगन्ध त मगमगाउँछ बेस्सरी
तर तिम्रो सुगन्ध जस्तो सुगन्ध अब कतै रहेन । बहुत बेग्लै, अलि पिरो अलि उराठिलो
अलि निरस सुगन्ध छ सर्वत्र,
त्यसले मलाई आँशुको जस्तै स्वाद दिन्छ,
तिम्रो जस्तो स्वप्निल र सुखद दिदैन ।
आमा !
वात्सल्य र ममता जसरी तिम्रो हृदय बाट बाह्रै मास बर्षन्थ्यो मेरो लागि,
मेरो हृदयमा तिम्रो लागि ठीक त्यसैगरी बगेको छ स्नेहको र सम्झनाको महाकाली ।
तिमी न निदाउँने रातहरुमा म मस्त निदाउँथें निस्फिक्री,
ठीक उसैगरी तिमी जूनी आमाको घर गए देखि
कस्तो मस्त निदाउछौ ।
म निदाँउनै सक्दिन ।