
पार्कको एकान्तमा तिमीलाई सम्झिएर टोलाईरहँदा,
हातमा उपहारसँगै फूलको गुच्छा लिएर
मैले चुनेको पोशाक अनि मुस्कानको साथमा
मेरो प्रतिक्षाको टुङ्गो पुर्याउन, पहिलो भेट झैँ
तिमी आयौ, देख्दा नदेख्दै तिमी स्खलित भै
थचक्क बसेको बेला म रोएको थिएँ ।
जसरी पहिले पहिले म रोएको थिएँ ।
उसैगरी
तिम्रा अनुहारमा अनेकन बिम्बहरु प्रष्ट थिए,
आँखामा खहरे अनि मनमा बज्र परेको थियो,
स्पन्दनमा मेरो अन्तिम नाम थियो सायद
अनि मानसपटलमा पुराना दिनहरु र यादहरु
एकै पटक सबै आवृत्तीहरु अनि अनावृत्तीहरु
रिक्लिपिङ भैरहेको थियो ।
म स्पष्ट देखिरहेको थिएँ ।
हाम्रा सम्बन्ध अनि न्यास्रोका
सबै मनमोहक चिजहरु ध्वस्त भए
अनि तिमी एक कदम पछि हटेर
विगतको तिम्रा चोखो मायाँ र
आत्मियता र सम्बन्ध बिर्सेर
जलिरह्यौ, गलिरह्यौ ,
एक पटक तिमीले सोधेनौ कि खास के भएको थियो भनेर ।
अनवरत बर्सेका आँसु पुछ्दा पुछुतै मैले बताउनै भ्याइन
हामी दुबै बोलेनौ मतलब बोल्नै भ्याएनौ,
न दुबैले बुझ्न कोसिस नै गर्यौँ कि आखिर के भयो ?
अंकमाल गरेनौँ, एकले अर्काको कपाल सुम्सुम्याएनौँ एकले अर्काको हातमा ऐना हेरेझैँ भाग्य पनि हेरेनौँ ।
न त मैले छोएँ न तिमीले मेरो थेप्चे नाक च्याप्प समातेर तान्यौ
अहँ पुराना हाम्रा कुनै कर्महरु दोहारिएनन् ।
हामीले भेट्ने गरेको ठाऊँमा हिजो आज
अरु नै कोही भेट्छन् कि नाईँ ? त्यो पनि सोधेनौ ।
एक अर्काको हालखबर सोधेनौँ, ।
सञ्चो अनि बिसञ्चो सोधेनौँ, बिछोडिएका पल सोधेनौँ
कति पीडादायी समय हामीले एक अर्कालाई सोधेनौँ ,
म पनि अवाकमै आत्तिएर थाकेँछु ।
तिमी घरिघरी मेरो सिउँदो मात्र हेर्छौ ।
म बुझ्दिनँ,
सँगै रुन थालेँछु, भक्कानिएर रुँदा मलाई ऐठन भएछ
तिमीलाई मेरो सिउँदोको एक चिम्टी सिन्दुरले यति धेरै
अवाक र भावुक बनाएछ
अनि मलाई पलभरमै पराई पनि
तर यो सिउँदो मैले तिम्रै नामको सिन्दुरले सजाएको थिएँ
जुन तिमीले विपनामा मलाई दिन बाँकी थियो ।
फगत सपना सपना मात्र होस् ।
आँखाभरी आँशु अनि मन भरी व्याथा