
लेखको शिर्षक विषयमा प्रवेश गर्नु अघि तिन स्मरण सम्झन चहान्छु ।
स्मरण १. भौतिकवादमा विश्वास गर्ने एक मित्र भेट्न म विहान साँढे आठ बजेतिर गएको थिए उनी रेडियोबाट आउने ज्यातिष दर्पण भन्ने कार्यक्रम सुन्दै रहेछ । इन्जिनियरिङ पढ्ने उनी हस्तकलाको किताब सिरानीमा राख्दो रहेछ । उनी हाम्रो हात हेरेर भूत र भविष्य आकलन गर्ने भइसकेको रहेछ । उनले नै मलाई यस्ता कुराहरु हामीलाई पछाडि पार्न रचिएको उच्चजातिय अहंकारवादीहरुको एक षड्यन्त्र भनि बताउँदथे ।
स्मरण २. दामन पाख्रिनबारे सोध खोज गर्ने क्रममा नेपाली कांग्रेसका एक नेताले “डाबोन कुटपिट, लुटपिट गर्ने रजहनी डाका गरेका एक जघन्य अपराधी हुन्” भने । कारण र आरोप थियो, उनी पार्टीले घोषणा गरेको कुनै पनि आन्दोलनमा सहभागी थिएनन् । उनी आफ्नै पारिवारिक रिसले बाहुन कुट्दै हिडेका मानिस हुन् ।
स्मरण ३. विद्रोह नै हैन । यो लुटपाट हो । पश्चिम एक नम्बरमा त्यसबेला जे भयो त्यो कुटपिट र लुटपाट बाहेक केही थिएन । न बैठक बसेकये थियो, न त निर्णय गरेको थियो । जो जोलाई जे जे गर्न मन लाग्छ त्यो गरेको थियो । काम नगरी खान रुचाउनेहरुको काम थियो । त्यसैले यो विद्रोह हैन । तिमी कति यो विद्रोह भनी पछ्याइ रहन्छौं बाबु भनेर मैले सम्मान गर्ने एक अग्रजले यात्रालाई निरुत्साहित गर्नु भो ।
यी स्मरणहरुसँगै म आज यस लेखमा तामाङहरुमा ल्हो पद्धति र खनियाबास विद्रोहलाई दामन पाख्रिन यानेकी डाबोनसँग घुलमिल गराउने प्रयास गरेको छु ।
तामाङहरुले आफ्नै प्रकारको चि (पात्रो) हेर्ने गर्दछन् । त्यसको निर्माण चन्द्र वर्षको आधारमा हुने गर्दछ । १२ ल्हो र ५ खाम को आधारमा चि हेर्ने गरिन्छ । यो ल्हो परम्पराको विकास मंगोल सभ्यतामा झण्डै पाँचहजार वर्ष अगाडि भएको पाइन्छ । महामञ्जुश्री (ज्यम्पेयाङ) ले ८४ हजार जयोतिष शाष्त्र (नाग्ची का ग्रन्थहरुको धर्मदेशना पञ्चशिर्ष डाडाहरुमा गर्नुृभएको मन्चुखाङ चि मा उल्लेख भएको पाइन्छ ।
ल्हो परम्परा अनुसार १२ वटा जनावरहरुको प्रतिकको ल्होखोर हुन्छ । ल्होखोर च्युङी अनुसार प्रत्यक एउटा वर्ष एउटा जनावरले शासन गर्दछ भन्ने मानिन्छ । जिवा, लाङ, ता, य्हे, डुक, डुल, त, ल्हुक, प्रे, ज्य, खि र फा हुन् । त्यसै गरी पाँच खाम छ्यु, ल्हुङ, मे, सा र फे छन् । यी पाँच खामले एक ल्हो एकपटक फन्को मार्दा ६० वर्षमा मात्रै उही ल्हो र खाम दोहोरिन आउँछ । यसैले यो ल्हो परम्परा अलग्गै छ ।
चन्द्रमाको गति, नक्षत्रहरुको चाल एवं त्यसले समयमा हुने क्रियाप्रतिक्रियाका आधारमा मानिसको जीवन चल्ने विश्वास गरिन्छ । ल्हो परम्परा मान्नेहरुले ल्हो र खामको आधारमा उसको चरित्र र भविष्यको आँकलन गर्ने प्रचलन छ ।
लाङ ल्होको बारेमा आकलन यस्तो छ । “बाल्यावस्थामा र युवाअवस्था समस्यापूर्ण हुनेछ । दूरदृष्टि, जेहेन्दार र प्रतिभाशाली हुनेछन् । एकान्तप्रेमी, चिन्तनशील र परम्परावादी हुन्छन् । आफ्नो उद्धेश्यमा व्यवधान भएको रुचाउँदैनन् । जीवनरेखा असजिलो गरी बिताउँदछन् । मुक्ति आन्दोलनलाइ टेवा दिएको हुनेछन् । आफन्तहरुसँग समय समयमा कष्टपूर्ण सम्बन्ध हुन सक्नेछन् (तामाङ: २०५२ ।)”
लाङ ल्होमा जन्म भएकाले चि हेर्दा जित्ने देखेर नै न्वारनको दिन डाबोन नामकरण गरिएको थियो । डाबोन सरकारी लेखोटमा आउदा दामन लेखियो । राज्यले तामाङ थर लेख्न नदिएकाले थर अगाडि बढाए र भए दामन पाख्रिन । सन् १९३७ (पासपोर्टमा उल्लेख भएअनुसार) मा जन्मनु भएका दामन सुरुमा आफ्नै मुक्तिका लागि लड्नु भो ।
उहाँलाई काम गर्ने मेलामा साहुँहरुले हपारेको, हेपेको र पेटभर नपाएको झोंकमा घर छाडेर हिड्दथे । एक ल्हेकोर आसपासमा नै घर छाडेर बिभिन्न गाउँहरु घुमेकय थिए । पश्चिम एक नम्बरभर उस्तै थिचोमिचो, अन्याय, अत्याचार, दमन र शोषण देखेर उनको मथिंगल हल्लन्थ्यो । अठार वर्षको उमेमै लाहुर गएका उनी फर्कदा बुबा ऋणमा डुबेको पाए । २२ वटा मुद्धा हारेर ऋणमा फसेको बुबालाई एक्लै छाड्न सकेनन् ।
कारण खोज्दै जाँदा घर बनाउन किनेको जग्गामा कचिंगल र मुद्धा परेको थियो । ४२०० ऋणको सावाव्याज गरेर १,८००० भएको थियो । त्यसमाथि समय समयमा व्याज तिरेका थिए । त्यसैले उनले साँहुहरु पिट्न थाले । उनको पछि लागेर सबैले आफ्ना साहुँहरुसँग विद्रोह गरे । मिलाउने आउने पुलिसको नियतले गर्दा निर्घात पिटे, थुनेर राखे ।
संगीन बोकेका मिलटरी समेतसँग बडाहाकिमको टोली गुन्मुङमा आइपुगे । सबै आसामीहरुको नाजायज ऋणहरु बडाहाकिम टोलीले बदर गरिदिए । स्याबासी पाए, ताली पाए । त्यसको लागि दामन र अन्य योद्धाहरुले जेल जान पर्यो । गदगद भएर तीन महिना जतिको कठोर जेलयात्रा सहज स्विकार गर्नुभयो ।
कांग्रेसका पश्चिम एक नम्बरका सभापति जगतप्रकाश जंग शाह जमानी बसेर जेलबाट निस्कदा थाहा भो त्यो त राजनीतिक खिचातानीको विषय भइसकेको थियो । असमञ्जस्यता बढ्यो । खेतबारीमा काम गर्न अवज्ञा र असहयोग गर्न लगाउनु भयो । मोहियानी दाबी गर्न सिकाउनु भयो । अन्तिममा साँहुहरुको घर भकारीमा हात हाल्नु भयो । साहुँहरु तितरवितर भयो । पञ्चायतले साहुँहरुको पक्ष लियो ।

दामन पाख्रिन लगायतका बिद्रोहीहरु ७ वर्ष लामो काराबासमा बन्द गराइदियो । काराबासले जीवन भोगाइको अर्थ सिकाइदियो । विद्यालयको सञ्चालक बन्नु भयो । शिक्षक बन्नु भयो । वारेन्ट आए पछि १८ महिना निर्वासन जानु भयो । पार्टीका जिम्मेवार नेताले १५ महिनासम्म पाउने भत्ता पनि दिइएन, पञ्चायतको सुराकी ठानेर । २०२६ पछि नेताहरुसँगै फर्कनु भयो । प्रधानपञ्च हुनु भयो ।
जनता र समाज परिवर्तनको लागि काम गर्दा गर्दै सुत्केरी भएकी श्रीमतीको स्याहारसुसार गर्न समय निकाल्न सक्नु भएन । जीवनसाथी भन्टाङ भुन्टुङ चार सन्तान छाडेर सदाको लागि निदाउँनु भयो । पञ्चायतलाई फाल्न हतियार उठाउन तयारहरुको रगतको छाप सहितको नामवली पुर्याउन पार्टी मुख्यालयमा नपुग्दै हेटौडामा कागज पत्र बरामद भयो । धन्न खेतै खेत खोलाको तीर तीर भएर भारत पुग्नु भयो ।
राजकाज मुद्धा लगाई उहाँहरुको बुबा समेतलाई सर्वस्वहरण गरियो । चल सम्पत्ति लग्यो, पशुधन समेत लग्यो । अचल सम्पत्ति रोक्का भयो । बहुदलको पक्षमा लाग्नु भयो ।
यस सन्दर्भमा वरिष्ट पत्रकार जिवेन्द्र सिम्खडा सम्झनु हुन्छ,
दामन पाख्रिन हाम्रा आदरणीय दाजु हुनुहुन्छ । २०३७ वैशाख १ गते भएको आममाफी पछि भारत प्रवासबाट नेपाल फर्कनु भएका दामन दाइसँग त्यही बैशाखमा जनमत संग्रहको मतदान हुनुभन्दा केही दिन अघि मात्र दार्खाको हाम्रै घरमा भेटघाट भएको हो । निर्दलको पक्षमा हुनुभएका हाम्रा बुबा बाबुराम सिंखडालाई उहाँ बहुदलको पक्षमा लाग्न अनुरोध गर्न आउनु भएको थियो । धारातसम्म वहाँहरुबिच राजनीतिक तर्क बितर्क वहस भएपनि बुबा बहुदलमा जान राजी हुनु भएन । तैपनि उहाँहरु एक अर्कालाई सम्मान गर्नुहुन्थ्यो ।
दुई पटक जिल्ला पञ्चायतमा उमेद्वारी दिनुभयो । पराजित हुनु भयो । राष्ट्रिय पञ्चायत लड्नु भयो, हार्नु भो । बिरक्तिएर हिड्नु भयो । बहुदलपछि प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भयो । मध्यवतिमा पराजित हुनु भयो । सदनमा सामान्य कृषक, दुःखी गरिब जनताको प्रतिनिधित्व गर्नु भयो । तल्लो सर्वहारा वर्गको मागहरु राख्नु भयो । विकासका लागि पहल कदमी लिनुभयो । पार्टीको जिल्ला सभापति बन्नु भयो । घाटीको क्यान्सरको कारण ६२ वर्षको उमेरमा दुःखत अन्त्य भयो ।
आफ्ना झोकमा हात हाल्नु भएको पक्का हो तर यो समग्रको प्रतिनिधित्व हो । यो विद्रोह हुन नसकेको भए आज पर्यन्त त्यहाँका आसामीहरुको हालत के हुन्थ्यो ? साहँुहरुको थिचोमिचो, अन्याय, अत्याचार, दमन र शोषण कुन हदसम्म पुग्थ्यो ? त्यो कल्पना पनि गर्न डर लाग्छ । यो विद्रोहले राष्ट्रिय राजनीतिमा समेत स्थान पाएकाले यो व्यक्तिगत रिसिइबी मात्र हो भनी कसैले भन्छ भने त्यो अध्ययनको कमीको उपज मात्र हो ।
त्यसैले त्यो गौरवपूर्ण बिद्रोहको कारण हजारौ परिवारले मुक्ति पाएका थिए । त्यसैले खनियावास विद्रोहका नायक स्व. दामन पाख्रिन (डाबोन) लाई सबैले आज पर्यन्त जेसिङन्हङकी अन्तरे डाबोन भनेर सम्झि राखेका छन् ।
अन्तमा,
नाग्ची (ज्यातिषशाष्त्र)ले भने झै दामन वीर, उत्साही र समाजको लागि आफ्नो सुखसयल त्याग्न सक्ने महान सादगी नेता हुनु भयो । विद्रोह त्यो समय, परिस्थिति र उकुसमुकुसको गम्भिर माग थियो । यही मौकामा दामन पाख्रिनले मुक्तिको यात्रामा पाइला राख्नु भयो । त्यो विद्रोह आवश्यक थियो । अलि समय कुरेको भए यसको रुप अझ विस्फोटक हुने पक्का थियो ।
(लेखक तामाङः खोज अनुशन्धान रुची राख्ने गर्नुहुन्छ ।)