सामुदायिक कृषि कर्मको चुनौती र स्थानीय सरकारको भूमिका

Avatar photo
Dhadingpost
आइतवार, भदौ २१, २०७७

एक भन्दा बढी मानिसहरु संलग्न भएर गरिने कृषि कर्मलाई सामुदायिक कृषि कर्मको रुपमा बुझ्न सकिन्छ । यसले उत्पादनका महत्वपूर्ण र अनिवार्य साधनको रुपमा रहेको पूँजी, प्रविधि, जमिन, श्रम र व्यवस्थापनमा गरिने साझेदारी र हिस्सेदारीलाई जनाउँछ । यो सामुदायिक हित प्रवद्र्धन गर्न गरिने सामुदायिक प्रयत्न वा संघर्षशिल अभियान समेत हो । यो विकासमा सहउत्पादन, सहलगानी, सहवितरणको नविन मोडल हो ।

उत्पादन र उत्पादकत्व वृद्धि, खर्च प्रभावकारिता अभिवृद्धि, सामुदायिक हित प्रवद्र्धन, नविन सोच र परिवर्तनको आधारमा समुदायिक परिचालन मार्फत आर्थिक सामाजिक रुपान्तरण गर्न यसको असल अभ्यास नेपाल लगायत विकासशील देशहरुमा अनिवार्य देखिन्छ । छरिएर रहको मन, मस्तिक, पूँजी, जमिन, प्रविधिलाई एकीकृत ढंगले परिचालन गरी पेशागत ज्ञान, सीप, अनुभव र अनुशासनको प्रयोग मार्फत रोजगारी, आयआर्जनमा बढोत्तरी गरी गरिवी निवारण गर्दै समृद्धि हासिल गर्ने यो नविन विकास सम्बन्धी मोडल प्रयोग आजको टडकारो आवश्यकता पनि हो ।

आज विश्व पूँजीवादी सोच र अवधारणाको सबल र दुर्वल पक्षहरुबाट आक्रान्त छ । विश्वको कुल सम्पत्तिको करिब ९० प्रतिशत हिस्सा करिब १० प्रतिशत व्यक्तिहरुमा सीमित रहेको तथ्यांकलाई केलाउँदा होस वा बहुराष्ट्रिय कम्पनिहरुको बजार हिस्सा, सिन्डिकेट, कालोबजारी वा नाफाको लागि अदृश्य साझेदारी होस यसले हाम्रो समाजलाई खण्ड खण्डमा विभाजन गरेको छ ।

हाम्रा सामाजिक मूल्य मान्यता, सत्भाव, सहकार्य, अनुशासन, आचरण, नैतिक मूल्यमान्यता माथि यसले पाइला पाइलामा कुल्चदै गएको छ । सीमित व्यक्ति वा घरानाको विकास र समृद्धिको लागि अस्वस्थ प्रतिस्पर्धा र मिलेमतो हुनेगरेको छ । बहुसंख्यक मान्छेलाई विस्तारै बेरोजगार, सम्पत्ति विहीन, सामाजिक मूल्यमान्यता विहीन र शारिरिक मानसिक रुपमा कमजोर र परनिर्भर बनाउदै लगेको छ । मानिसहरुमा आवश्यकता, आशक्ति, मोह, ईष्य, घृणा बढाएको छ । मै खाउ मै लाउँ मै सुख सयल गरौ भन्ने सोचले विस्तारै समाजलाई निल्दै छ ।

परिवार तिव्र गतिमा न्यूक्लियर फेमेलीमा रुपमान्तरण हुँदै गएको यो समाजमा फरक वर्ण, धर्म, भाषा, संस्कृति, पेशा व्यवसाय गदै आएको जनलाई आपसमा सदभाव, एकता, विश्वास सृजना गरी लाभलागतमा साझेदारी गर्दै सामुहिक कृषि कर्मलाई प्रोत्साहन गर्ने कुरा बैचारिक र व्यवहारिक हिसाबले समेत चुनौतीपूर्ण छ । विविधता भएको हाम्रो समाजमा उत्पादनका साधनहरुसमेत छरिएर रहेका छन ।

यहाँ पूँजी हुने सँग जमिन छैन, प्रविधि छैन । प्रविधि हुनेसँग व्यवस्थापकीय शिल्पी, पूँजी र जमिन छैन । आज करिब २०० रोपनी जमिन भाडामा लिएर कृषि कर्म गरौ भन्यौ भने करिब २ दर्जन परिवारसँग जग्गाको लागि छुटाछुटै र सामुहिक बहस गर्नुपर्ने छ । ती परिवारका पनि व्यक्तिपिच्छे वार्ता र सम्वाद मार्फत विश्वास आर्जन गर्नुपर्ने छ । उनीहरुको माग, आवश्यकता, चासो र सरोकारलाई सम्वोदन गर्नुपर्ने हुन्छ ।

लगानीको ढाँचा, वस्तुको उत्पादन र वितरण, कर्मचारी व्यवस्थापन, निर्णय प्रक्रिया, लागत, लाभ वितरणको ढाँचा, आन्तिरिक नियन्त्रण, संस्थागत सुशासनको विषयमा लामो सम्वाद र बहस आवश्यक छ । कतिपय अवस्थामा यो वहस र छलफल गर्भ मै निष्क्रिय हुन पुगेको उदाहरण समेत हाम्रो सामु छ । विगतमा कुनै व्यक्ति वा समुदाय विशेषको कुनै पेशा वा व्यवसायमा भएको असफलता, धोकाधडी, अनियमिता र भष्ट्राचारको अनुभव, त्यसप्रतिको अफवाह, अज्ञानता, अविश्वास र भ्रमले समुदायका सदस्यहरुको मनमस्तिकमा गहिरो जरा गडेको छ । यसको उपचार नगरेसम्म सामुदायिक लगानी मार्फत सामुदायिक हित प्रवद्र्धन खातिर गरिने व्यवसायिक कर्म सम्बन्धी अभियानले सफलता चुम्न सक्दैन ।

यो पवित्र कार्यको लागि स्थानीय सरकारको भूमिका प्रभावकारी र प्रोत्साहनयोग्य हुनुपर्दछ । जग्गा सम्बन्धी समस्या समाधान गर्न होस वा नविन प्रविधिको प्रवद्र्धन गर्न वा माटो सुहाउँदो उन्नत विउ विजन उपलब्ध गर्न वा पकेट क्षेत्र घोषणा गरी सामुहिक लगानीमा उच्च मूल्यका वस्तु सेवा उत्पादन एवं वितरण वा सडक सिचाई लगायतका भौतिक पूर्वाधार निर्माण गर्न वा प्राविधिक सेवा उपलब्ध गराउन होस स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रहरु धेरै छन । तर अधिकांश स्थानीय तहमा यस्तो सोच र चेतनाको अभाव रहेको छ । उदाहरणको रुपमा लेखकको जन्मभूमि रहेका वेनिघाट रोराङ गाउँपालिकाको दक्षिणी क्षेत्र धुषा कृषि तथा पशुपालनको लागि अत्यन्तै उर्वरभूमि हो ।

त्यहाँ कृषि कर्ममा संलग्न हुनेको संख्या उल्लेख्य रहेको छ । यद्यपी त्यहाँ माटोसँग खेल्नेहरुको जीवन चक्रमा कुनै परिवर्तन आएको छैन । कृषि पेशालाई हेयको दृष्टिकोणले हेर्ने प्रचलन आजपनि उस्तै छ जवकी कृषि उत्पादन बजारीकरण गर्नेहरुको जीवनस्तरमा आएको परिवर्तन भने साँच्चै लोभलाग्दो छ सम्मानित छ । यसबाट कृषि क्षेत्र उत्पादनसँगै बजारीकरण सम्बन्धी अनेकौ समस्याका कारण थलिएको आभास हुन्छ ।

कृषिलाई ग्रामिण अर्थतन्त्रको ड्राइभिङ्ग रोल दिने हो भने स्थानीय सरकार यी यावत समस्यासँग दीर्घकालीन योजना, कार्यक्रम र योजनासाथ समुदायलाई नेतृत्वदायी भूमिका दिई सहजीकरण र उत्प्रेरकको भूमिकामा फिल्डमा उत्रनु पर्ने देखिन्छ । स्थानीय सरकारले सामुदायिक कृषि प्रणालीलाई जोड दिनु पर्नेछ । उदाहरणको लागि धुषालाई व्यवसायिक बाख्रा पालन, फलफूल खेती, व्यवसायिक गाईपालनमा मात्र सीमित गर्न सकिन्छ ।

यसले एकातर्फ कृषिको उत्पादकत्व बढाउँछ आय आर्जन र समृद्धि मार्फत गरिवी निवारण गर्न सकिन्छ भने अर्कोतर्फ सामाजिक सत्भाव, एकता, भातृत्व र सामाजिक न्याय प्रवद्र्धन हुनेछ । स्थानीय सरकारको पूँजी, प्रविधि, प्राविधिक सेवामा हुने संस्थागत लगानीको उपादेयता बढ्दै स्थानीय सरकार प्रति जनताको विश्वास थपिनेछ । कृषि पेशालाई सम्मानित र आजीवन जिउने पेशको रुपमा रुपान्तरण गर्न सकिन्छ ।

सामुदायिक कृषि कर्म एक सबैको लागि, सबै एकको लागि भन्ने सहकारिताको आदर्श अवधारणाले मार्ग निर्देश हुनुपर्ने देखिन्छ । सामुहिक पर्यत्न, सामुहिक सृजना, सामुहिक पूँजी र प्रविधिको प्रयोग मार्फत एकल लगानीमा भारी कटौती गरी लाभमा गुणात्मक बढोत्तरी गर्न प्रर्यत्न गर्नुपर्ने देखिन्छ । व्यवसायलाई व्यक्ति भन्दा माथि राख्ने, विधि र पद्धतिमा आधारित संस्थागत निर्णय, लाभको समन्यायिक वितरण, पारदर्शिता, सहभागिता, सामुहिक जवाफदेहिता र उत्तरदायित्व यसका आधारभूत शर्त हुन ।

स्वस्थ आलोचना, समुहका सदस्यहरु बीच खुला बहस, आलोचनात्मक चेत, स्वनियन्त्रण, स्वअनुशासन जस्ता व्यवसायिक र नैतिक मूल्यहरुले सदस्यहरु बीच समभाव, एकता र भातृत्व पैदा गर्दछ जून सामुहिक उर्जाले संस्थालाई सवल र प्रभावकारी बनाउन सहयोगी सिद्ध हुन्छ । सामुदायिक कर्मबाट उत्पादकत्व, रोजगारी, प्रतिव्यक्ति आयमा गुणात्मक वृद्धि हुँदै बर्ग अन्तर कम हुनेछ । ग्रामिण विकासको मेरुदण्डको रुपमा रहेको विकासको यो मोडलबाट लोक कल्याणकारी राज्य स्थापना हुदै समाजवाद उन्मुख संविधानको सपनासमेत साकार हुनेछ ।