
काठमाडौं साउन २८ । कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँ सोमबारदेखि सम्पर्क विहिन थिए ।
दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी समेत दिएपछि खोजी कार्य सुरुभएको थियो ।
बुधबार मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताउनु भयो ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।
