
नुवाकोट साउन २३ । कोरोना भाईरस (कोभिड १९) को सङ्क्रमण रोक्न सङ्कट व्यवस्थापन केन्द्र नुवाकोटले अनिश्चतिकालिन लकडाउन सुरुगरेको छ ।
नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार नुवाकोट बेलकोटगढी नपा–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपल तर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टाइन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिक स्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन बन्द गरिएको छ ।
विहिबार सम्पन्न केनद्रको बैठकले खेलकुदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधिको अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।