चेपाङ बस्तीमा पाक्न थाल्यो चिउरी

Avatar photo
Dhadingpost
साउन ४, २०७७

धादिङ साउन ३ । बिहेमा चिउरीको बोट दाइजो दिने चेपाङ समुदाय बस्तीहरुमा अहिले चिउरी पाक्ने सिजन सुरु भएको छ ।

धादिड़, चितवन, गोरखा र मकवानपुर लगायतका चेपाङ बस्तीहरुमा अहिले चिउरी पाक्न थालेको छ । चेपाङ समुदायले बजारमा लगेर चिउरी बेच विखन गरेको पाईदैन भने कोसेली स्वरुप चिनजानका मान्छेहरुलाई पठाउने गरेको भेटिन्छ ।

चेपाङ समुदायले चिऊरीको रस अनिकालको समयमा खान र बियाबाट शुद्द शाकाहारी घ्यू निकल्ने गरेको तिलक चेपाङले बताए । यहि चिउरीले चेपाङहरुको ३ महिनाको अनिकाल टहर्ने उनी बताउँछन् ।

स्थानीय चेपाङ समुदायले अहिले पाकेको चिउरीको बियालाई चुलामाथी भारमा सुकाएर ढिकिमा कुटेर खस्रो पिठो बनाएर प्वाल भएको माटोको हाडीमा राखी फुड़ (वाफमा पकाऊने) र फुड़ लगाएको तात्तातो चिऊरी बियालाई बासको प्याद (प्यार) मा लगाई चेपुवामा चेपेर वा कोलमा हालेर तेल निकाल्ने गर्दछन् ।

तेल निकालेपछि बाकी भएको पीना चेपाङ समुदायलले खोलामा माछा मार्न, गड़गटा मार्न र खेतबारीमा जैविक बिषादीको रूपमा प्रयोग गर्ने गर्दछन् ।

चेपाङ समुदाय सँग विशेष सम्बन्ध रहेको चिउरीको बोट संरक्षण र यसबाट उत्पादित समाग्रीहरु प्रवद्र्धनका लागि गाउँपालिकाले विशेष योजना बनाएको बेनीघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले धादिङपोष्टलाई बताए)

चिउरी फलको जानकारी र महत्व

वैज्ञानिक नाम Diploknema butyrcea (Roxb.)H.J.Lam. भएको चिउरी Sapotaceae परिवारमा पर्छ ।

अंग्रेजीमा यसलाई Butter tree भनिन्छ । समुद्र सतहबाट २०० देखि १,५०० मिटर सम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटर सम्म अग्लो हुन्छ ।

नेपालमा पुर्व देखि पश्चिम सम्मै पाइए पनि मध्य र सुदुर पश्चिम क्षेत्रमा चिउरी बढी पाइन्छ । घमाईलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धयरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइन्छ ।

हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कार्तिकदेखि माघ सम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटा सम्म बिजुला हुन्छन् ।

चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । चिउरीको घिउ साबुन र मैनबत्ति बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ ।

असार साउनमा पाकेर पहेंलो भएको फलबाट बिउ निकाल्नु पर्छ । बिउलाई धोएर छायाँमा सुकाउनु पर्छ । फलबाट निकालेको सात दिन भित्र रोपेको बिउ राम्ररी उम्रन्छ । पात कुहेर बनेको जंगलको मलिलो माटो १ भाग, वालुवा एक भाग र राम्ररी पाकेको गाईवस्तुको मल एक भाग मिलाएको माटोमा १२ घण्टा अगाडि देखि भिजाएको बिउ चार अंगुल जति गाडेर रोप्नुपर्छ । असार, साउन र भदौ सम्म नै विउ रोप्न सकिन्छ ।

१ वर्षपछि २० देखि ४० सेन्टिमिटर अग्लो विरुवा रोप्नलायक हुन्छ । रोपेको ५ बर्षसम्म राम्ररी मलजल गर्नुपर्छ । चिउरी रोपेको बाह्र बर्षदेखि ७० बर्षसम्म राम्रो फल्छ ।