
धादिङ असार २० । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले गत वर्ष २५ लाख र यस वर्ष २५ लाख गरि ५० लाख खर्च गरेर चरौदीमा रहेको फुटबल मैदानको स्तर उन्नति गरेको छ ।
२०६४ सालमा स्थानीय उज्वल रिजाल सहितका युवाहरुद्वारा निमार्ण सुरु गरिएको उक्त खेल मैदान त्यसपछि विभिन्न सस्था तथा व्यक्तिबाट सहयोग लिदै स्तर उन्नती गर्दै विभिन्न खेलकुदका कार्यक्रम हुँदै आएको थियो ।
त्रिशुलीको किनार नजिकै रहेको उक्त खेलमैदान त्रिशुली नदीको कटानबाट रोक्न यस वर्ष गाउँपालिकाले तार जालि र मैदान सम्म्रक्षणको लागि ५० लाख रुपैया प्रदान गरे सँगै मैदानको स्तर उन्नति भएको चरौंदी समाज सुधार युवा क्लवका अध्यक्ष उज्वल रिजालले बताए ।

केहि दिन अघि खेल मैदान अवलोकनका लागी चरौंदी पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले ट्रेनिङ स्कुल संचालनका लागि सहयोग गर्ने बताए सँगै स्थानीय युवाहरु थप हौसिएका छन् ।
क्लवका अध्यक्ष रिजालका अनुसार गाउँपालिका उक्त चरौंदी खेल मैदानलाई प्याराफिट सहितको अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल मैदान बनाउने तयारीमा लागेको छ ।
अहिले उक्त अस्थायी खेल मैदान बेनीघाट रोराङका वडा नम्बर ७ र ५ यस्तै त्रिशुली पारिको गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ का युवाहरुले प्रयोग गर्दै आई रहेका छन् ।

दक्षिणि धादिङको धुनीबेसी नगरपालिका देखि बेनीघाट रोराङ सम्म सबै स्थानीय तहले स्तरीय फुटबल मैदान बनाउने कामलाई निरन्तरता दिई रहेका छन्, भने बेनीघाट रोराङले फुटबल मैदान सँगै क्षेत्रिय स्तरको क्रिकेट मैदान समेत निमार्ण कार्य अगाडी बढाएको छ ।
मध्य धादिङका स्थानीय तहहरुले खेलकुदमा उल्लेख्य लगानी गर्न इच्छा देखाएको पाईएको छैन भने सदरमुकाममा नजिकै अल्छि डाँडामा राखेपको सहयोगमा फुटबल मैदान निमार्ण कार्य जारी छ ।
मध्य धादिङ भन्दा बढी खेलकुद गतिविधि हुने गरेको उत्तरी धादिङमा पनि स्थानीय स्तरका खेल मैदानहरु निमार्णमा गाउँपालिकाहरुले उल्येख्य लगानी गरि रहेका छन् ।
