
काठमाडौं असार १९ । नेपालका ७७ वटै जिल्लामा सरकारले रोटा भाइरसविरुद्धको खोप ‘रोटा रिक्स’ सुरु गरेको छ । बिहीबारबाटसबै जिल्लाको १७ हजार खोप केन्द्रबाट सो खोप सुरु भएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी) को सहयोगमा उक्त खोप सुरु भएको हो ।
बालबालिकामा झाडापखाला र झाडापखाला गराउने मुख्य तत्व रोटा भाइरसविरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा आएपछि राष्ट्रिय खोप कार्यक्रममा समावेश निशुल्क खोपको संख्या १२ पुग्नेछ ।
यो खोप जन्मेको ६ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक दिइने बच्चाहरूमा मुखबाट दिइन्छ, एक पटकमा १.५ एमएल दिइन्छ ।
कान्ति बाल अस्पतालमा सन् २०१० देखि २०१६ सम्म पखाला लागि भर्ना भएका ५ बर्ष मुनिका बालबालिकामा अध्ययन गर्दा ३८ प्रतिशतमा रोटा भाइरस देखिए सँगै सरकारले ७७ वटै जिल्लामा ‘रोटा रिक्स’ खोप अभियान चलाएको हो ।
रोटा भाइरसको संक्रमण भएपछि बालबालिकालाई पानी जस्तो पातलो पखाला लगाउने र जलवियोजन गराई तत्काल ज्यान जाने अवस्था समेत आउन सक्छ । नेपालमा वर्षमा ६ लाख २० हजार बालबालिका जन्मने गर्दछन्।
‘त्यसैले वर्षमा ६ लाख २० हजार भाइल खोप आवश्यकता पर्दछ । अहिले ३ लाख २४ हजार भाइल आइपुगेको छ । अब नियमित रुपमा यो खोप अन्य खोप जस्तै आउँछ,’ शाखा प्रमुख डा गौतमले बताए ।