
गत सोमबार मात्र सञ्चार माध्यमहरुमा आएका दुई खबरहरु हामी र हाम्रो समाज कहाँ छन् भन्ने कुराका यथेष्ट प्रमाण हुन्–“२० बर्षिया युवती माथि ६ जनाद्वारा सामुहिक बलात्कार, “अन्तरजातीय प्रेम गरेकै कारण युवाले ज्यान गुमाए, वडाध्यक्ष सहित पाँचजना पक्राउ ।”
एउटा भक्तपुरको घटना हो भने अर्को रुकुमको । यी घटनाहरु त्यतिखेर घटेका छन् जतिखेर राष्ट्रियता (राष्ट्रवाद?) को खेती एक पटक फेरि चर्कोसँग चलेको छ । भारतीय विस्तारवादद्वारा माटो मिचिएको कुरामा चर्को कुरा गर्दै खाँटी देशभक्त साबित हुने प्रतिस्पर्धा पनि चर्कै छ । तर देशभित्रै जन्मजात राष्ट्रियता हरण भएकाहरुको राष्ट्रियताबारे चर्चा गर्न धेरैलाई जाँगर छैन ।
जसको राष्ट्रियता देशभित्रै अपहरित छ उसले माटो खोसिएको कागजको नक्सा छातीमा राखेर कसरी हाँस्न सक्छ ? राष्ट्रियतालई फगत दौरा–सुरुवाल, टोपी र सीमानाको माटोसँग तुलना गर्नेहरुको ध्यान कहिल्यै यतातिर गयो कि गएन ? जसलाई जन्मिएको आफ्नै माटोमाथि टेकेर आफूलाई सगर्व मानिस भएको दाबी गर्न प्रतिबन्ध छ ।
मधेशी होस् या महिला, दलित होस् या हातमुख जोड्ने युद्धमा शहिद भएका भरिया सूर्य बहादुर तामाङ । ती मानिसहरु जसको पहिचान नै हेपिन, दबिन, थिचिन र मनपरि गरिनको लागि स्थापित भएको छ । तिनीहरु, जसलाई मन खोलेर प्रेम गर्ने अधिकार छैन । तिनीहरु, जसको पहिचान नै सजाय, अपराधवोध र मृत्युवरणको कारण बनेको छ ।
उनीहरुको लागि राष्ट्र कुन हो ? के यसको जवाफ राष्ट्रियताका जाली व्याख्याताहरुसँग छ ? के सत्ता र सरकारसँग छ ? के आफूलाई चौबीसै क्यरेटका क्रान्तिकारी दाबी गर्ने राजनीतिक दलहरुसँग छ ? कि यसको जवाफ डलर खेतीवालाहरु सँग छ ? कि यसको जवाफ धर्मका ठेकेदारहरु सँग छ ? कोसँग माग्ने उनीहरुले यसको जवाफ ? हाम्रो समाजमा के छ ? भन्नुभन्दा पनि के मात्र छैन ? भन्ने प्रश्न ग¥यो भने सहजै जवाफ दिन सकिन्छ–हाम्रो समाजमा हुनलाई सबै छ । मानवधिकारको खेती चल्न थालेको वर्षौं भयो ।
समाज सुधार र परिवर्तनका ठेकेदारहरु घर–घर अनि गल्ली–गल्लीमा भेटिन्छन् । राजनीतिको खेती त सार्वभौम नै भैहाल्यो । गफका आकाश औं पाताल जोड्ने चिया गफ र टाइम पास बुद्धिजिवीहरु हरेक चिया पसलमा भेट्न सकिन्छ । जन अधिकारको कुरा, भेदभावमुक्त तथा समता मूलक समाजका जाली कुराहरु राणकाल, पञ्चायती व्यवस्था देखि लिएर “प्रजातन्त्र” को बहुदलीय रैतीतन्त्रमा पनि गरिन्थ्यो ।
अहिले त झन गणतन्त्रको मण्डी सजाएर राजनीतिको व्यापार चलिरहेको व्यवस्थाभित्र आत्ममुग्धताले यति सीमा नाघेको छ कि त्यो खुशी सम्हाल्न नसकेर प्रधानमन्त्री नै खुशी र अमन–चयनका कविताहरु लेख्न बाध्य छन् ।
सकारात्मक सोंचको त यस्तो बाढी र व्यापार छाएको छ कि अब केहि समयभित्रै लाग्छ नकारात्मक सोंच नामको चिज नै कहीं कतै भेट्न सकिन्न होला । सकारात्मक बन्नका लागि सत्ताका हरेक हरकतहरुबारे प्रश्न उठाउन नहुने उर्दी जारी छ ।
सरकारी÷गैह्रसरकारी “समृद्धि” र “विकास”को खेती पनि आफ्नै रफ्तारमा छ । जसको निरन्तरतासँगै कुनै प्रकारका अभावका खेतहरु अब बाँझै रहन्नन् जस्तो लाग्छ । क्रान्तिका अभियानहरु क्रान्तिविरोधी झारपातलाई गोडमेल गर्दै यसरी अगाडि बढेका छन् कि भुइँतहका जनताको भाग्यको फैसला नाफाका धन्दावाल(वित्तिय संस्थाहरु) र परिवर्तनका व्यापारीहरु (एनजिओ/आइएनजिओंहरु) गरि रहेकै छन् । ठीक यतिखेरै राष्ट्रियताको खेती यसरी मौलाएको छ कि मानौ राष्ट्रियताका मुद्धाहरु सबै हल भैसके । जमिन र माटोमा बल्झिएको राष्ट्रियता मात्र हल गर्न बाँकि छ ।
यथार्थको अर्को पाटो भने अहिले पनि हाम्रो स्वाभिानाको शिरमाथि परेड खेरिहेछ । यतातिर गम्भीर ध्यान दिने, संवेदनशील बन्ने र प्रश्न उठाउने फुर्सद खासै हामीलाई छैन । ठूला कहलिएका यजेण्डाहरुका सामु ‘साना’ ठानिएका एजेण्डाहरु समयका गर्तहरुत्रिभै पुरिन्छन् र कालान्तरमा फेरि उकुच पल्टिएर देखा पर्छन् ।
त्यही हालतमा छ समाज । समृद्धिका आयातित एजेण्डा र जडौरी स्वतन्त्रताको चकाचौंधभित्र दिनदिनै संवेदना मर्दैछ । जसको दृष्टान्त हुन् आफ्नै माटोमाथि आधा दर्जन अधमहरुबाट बलात्कृत भक्तपुरकी युवती । प्रेम गरेकै ‘अपराध’मा ‘सभ्य समाज’को शिकार भएका रुकुमका नवराज वि.क. ।
पछिल्लो खबर अनुसार उनीसँगै केटीको घर पुगेका उनका साथी टिकाराम वि.क. पनि मृत अवस्थामा भेटिएका छन् भने केटी पक्षका गाउँलेहरुबाट लखेटिंदै भेरि नदीमा हाम फालेका अन्य चार जनाको अवस्था अहिलेसम्म अज्ञात छ ।
भक्तपुर सामुहिक बलात्कार काण्डको समाचार पढ्दा यस्तो लाग्छ कि बलात्कारी नरपशुहरु कुनै आमाको कोखबाट जन्मिएका मानव नभएर बलात्कारीहरु उत्पादन गर्ने कारखानाबाट उत्पादन भएका नराधमहरु हुन् । त्यसैगरी चौर जहारी, रुकुमको समाचार पढ्दा यस्तो लाग्छ की कथित माथिल्लो जातको अहंकारबाट बौलाएर अत्याचारको कथा लेख्नेहरु यो समाजका सदस्यहरु नै होइनन् । बरु उनीहरु हत्यारा उत्पादन गर्ने कारखानबाट उत्पादित हत्याराहरु हुन् ।
कथित उपल्लो जातकी केटीसँग प्रेम र विवाह गर्न चाहेकै अपराधमा लखेटी–लखेटी नदीमा खसाल्नु र ढुंगा प्रहार गरी मार्ने घटनाले जंगली युगीन बर्बरतालाई सम्झाएको छ । यो निकृष्ट व्यवहारको चित्रण गर्नलाई शब्दहरु पनि असफल हुन्छन् ।
नवराज वि.क. र शुष्मा मल्लबीचको तीन वर्षदेखि कायम रहेको प्रेम पराजित भयो तर मध्ययूगीन बर्बरता विजयी भयो । विजयी मात्र भएन सभ्यताको फूर्ति लगाउँदै हिड्ने समाजका अगाडि नांगै भएर उभियो । यसप्रतिको उदाशीनता, प्रतिक्रिया र प्रतिक्रियाहरुको प्रकृतिले देखाउँछ हामी जिवित छौं या मूर्दा ! हामी सभ्य छौं या बर्बर !
आफ्नै आँखा अगाडिको जंगली सभ्यता । त्यो सभ्यताले मानिसको हत्या गरेर जम्मा भएको रगतको तलाउ । त्यही रगतको तलाउमा एकपछि अर्को तैरिदै गरेका निर्दोष मानिसका लाशहरु ! के यो आफूलाई जिउँदो दाबी गर्ने समाजको लागि सुहाउने परिदृष्य हो ? हामीले एकपटक छातीमा हात राखेर सोध्ने बेला भएको छ–के हामी साँच्चिकै जिवित छौं ?