…कहिले हामी झुकेथ्यौं, सीमा विवाद

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७७

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामूमा कहिले हामी झुकेथ्यौं ।

कुनै बेला नेपाली बिषयको पाठ्यक्रममा समावेश गरिएको राष्ट्रकवि माधव घिमिरेको गाउछ गीत नेपाली का यी हरफहरुलाई भारतको दबाबमा पाठ्यक्रमबाटै हटाइएको थियो ।

हामीले आफ्नो ईतिहास गाथा गाउदा पनि भारतको चित्त दुखेर आउने रहेछ । अहिले आएर सयौं स्थानमा सीमा अतिक्रमण गरिरहेको भारतले नेपालीहरुको गुनासोलाई वर्षौंदेखि सुनेर पनि नसुनेझै गरिरहेको छ ।

१९५० को सुगौली सन्धिमा नेपालले आफुले जितेका धेरै भूभाग गुमाउनु पर्यो । त्यसको बदलामा बांके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता दियो । इष्ट इन्डिया कम्पनी सरकारको यो निर्णयले नेपाली बीर योद्धाहरुको मनमा ठुलो चोट पर्यो ।

सेनापति अमरसिंह थापा यो पीडा भुल्न साधुको भेष धारण गरी गोसाइकुण्डमा गै बसे र त्यही देह त्याग गरे । प्राइममिनिष्टर जङ्गबहादुरको पालामा नेपाल भारतको सिमानामा तराइ क्षेत्रमा दुबै देशको सीमामा दश गज जमिन खाली राखेर दुबैतर्फ खम्बा राखिएको थियो । बीचको भूभाग्लाई कसैले प्रयोग गर्न नपाउने गरी ‘नो म्यान्स ल्याण्ड ‘ भनियो ।

सीमा क्षेत्रलाई दशगजा भनियो । सिमेन्टका खम्बालाई जङ्गे पिलर भनियो । बि भारतको सीमा हेर्ने गरी सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरियो । तर नेपाली भूमिको रक्षा गर्न कुनै बल प्रयोग गरिएन ।

त्यसैले गर्दा एसएसबीको शक्तिको आडमा दशगजामा खेती गर्ने ,सडक बनाउने ,घर टहरा बनाउने, जङ्गे पिलर भात्काइदिने र आर्को ठाउमा सारीदिने आदि ज्यादती हुँदै आयो । सीमा क्षेत्रका नेपालीहरुलाई दुस्ख दिने धम्क्याउने गर्न थाले ।

दशगजाको प्रमाण नष्ट गरेर १/२ किमी सीमा सार्ने काम समेत हुन थालेको तराइका बासिन्दाको सामू जगजाहेर छ । त्यतिमात्र नभएर हिमाली र पहाडी भागमा समेत सीमा अतिक्रमण हुन थालेको छ ।

ईलामको पशुपतिनगर र दर्चुलाको कालापानीमा पनि सीमा अतिक्रमण भएको छ । २०४६ सालको जनअन्दोलन पछि नेपालमा बिभिन्न विद्यार्थी संगठनहरुले कालापानीबाट भारतीय सेना हटाउन पटक पटक आन्दोलन गर्दै आएपनि भारतले कुनै चासो दिएको छैन ।

उल्टै आर्को खोलालाई काली खोलाको नाम दिएर कालापानी, गुन्जी, लिपुलेक र लिम्पियाधुरा आफ्नो कब्जामा लिएको छ । र हाल त्यहा सडक खन्दै आएको छ । यसरी ११ किमी जमिनमा आफ्नो अधिपत्य जमाएको भारतले २३ ठाउमा सीमा विवादित बनाइ दिएको छ । भारतीय नापी बिभागका पुराना नकशाहरुमा समेत लिम्पियाधुराबाट आएको खोलालाई काली खोला भनी देखाइएको पाइन्छ ।

हाल आएर नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नक्शा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । तर नक्शा बनाएर मात्र कर्तव्य पुरा हुँदैन, नेपाली भूमिबाट भारतीय सेना र एसएसबी हटाउने तर्फ कूट्नीतिक पहल गरिनु आजको माग हुन आउछ ।
त्यस्तै नेपाल भारत संयुक्त सीमा अध्ययन टोली बनाएर बिबादित सीमाको टुङो लगाएर सीमा सुरक्षाको लागि सेना तथा प्रहरी परिचालन गरिनु नै समस्याको समाधान हुन आउछ ।