
धादिङ जेष्ठ २ । धादिङको गजुरी गाउँपालिकाले संचालन गरेको फुड बैंकमा खाद्यान्न सामग्री जम्मा हुने क्रम जारी रहेको छ ।
गाउँपालिकाले निरन्तर रुपमा फुड बैंकमा खाद्यान्न जम्मा गर्ने सहयोगीहरुको नाम सार्वजनिक गरि रहेको छ भने उक्त सामग्री असाह्य गरिव तथा विपन्न परिवारलाई प्रदान गरि रहेको छ ।
पछिल्लो पटक शुक्रबार हरि दास फाउण्डेसन गजुरीले फुड बैकमा खाद्यान्न सामाग्री जम्मा गरेको पत्र गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतलाई हस्तान्तरण गरेका छन् ।
फाउण्डेसन गजुरीले शुक्रबार गाउँपालिका भित्र रहेको असाह्य गरिव तथा विपन्न परिवारलाई वितरण गर्ने गरि ३० केजीको ५० बोरा चामल, ५० केजी दाल, १०० लिट खाने तेल र १०० केजी नुन गाउँपालिकाको फुड बैकमा जम्मा गरेका हुन् ।
यस्तै गजुरीले विज्ञप्ती जारी गर्दै बिहिबार धादिङबेसीमा दुवाडी एग्रोभेट संचालन गरेर बसेका बोदनाथ दुवाडीले धादिङ उद्योग वाणिज्य संघ मार्फत २१० केजी चामल, गजुरीका राम हिरा पाठकले ७५० केजी चामल र गजुरी कै थिरविक्रम बस्नेतद्वारा ४५० केजी चामल फुड बैकमा जम्मा भएको जनाएको छ ।
यस अघि बैशाख १७ गते पनि धादिङ उद्योग वाणिज्य संघको राहात सामाग्री महासचिव लोकनाथ डल्लाकोटीले गजुरी गाउँपालिकाकाले लकडाउनको मारमा परेका असाह्य, गरिव तथा मजदुहरुको लागि खाद्यान्न वितरणका लागि संचालनमा ल्याएको फुड बैंकलाई ३० केजीको १५ बोरा चामल हस्तान्तरण गरेका थिए ।
यस्तै गजुरीको फुड बैकलाई ठूलोवन सामुदायिक वन उपभोक्ता समूह गजुरीले २५ बोरा, इसाई समाज र पुनरुत्थान बोर्डले ५६ हजार मुल्य बराबरको १२ सय केजी, लायन्स क्लब अफ मलेखु टाउनले चामल १० बोरा चामल र नवजीवन साना किसान सहकारी गजुरी ५ को तर्फबाट २५ हजार १२५ रुपैया नगद सहयोग आएको गाउँपालिकाले जनाएको छ ।

