युग सापेक्ष शिक्षा आजको आवश्यकता हो । सबै देशहरुले युग सापेक्ष शिक्षा दिन सक्दैनन् । सबै नागरिकले लिन पाउँदैनन् । राष्ट्रिय नीति, सरकारी इच्छा शक्ति, देशको श्रोत साधन, प्राथमिकता अनि नागरिकको भुमिका आदिले कुनै पनि देशको शिक्षा प्रभावित भइरहेको हुन्छ ।

आजको युगले उपभोक्तावादी संस्कार सिकाई रहेको छ तर हाम्रामा गुरुकुलिन शिक्षा पद्धतिकै सुधारिएको शिक्षा प्रणालि कायम छ । विज्ञान प्रविधिको विकास विना आजको उपभोक्ताका आवश्यकता पूरा गर्न असंभव छ ।
बाल मस्तिष्कमा वैज्ञानिक र आत्मविश्वासी धारणा बस्नु अगााडी नै अन्ध विश्वासी र हिनता बोधको धारणा बसाल्ने शिक्षा पद्धति हाम्रोमा छ । जसका कारण विज्ञान प्रविधितिर हाम्रा मन मस्तिष्कहरु घोत्लिनै चाहँदैनन् । म आफैं झण्डै २० वर्ष शिक्षण पेशामा व्यतित गरि रहँदा आफ्नो पेशाबाट उत्पादनको दृष्टिले कत्ति सन्तुष्ट रहिन ।
यद्यपि यो शैक्षिक प्रणालि बदल्नका लागि पेशागत घेरा भित्र र बाहिरबाट भर मग्दुर प्रयत्न गरें । परिणाम खासै हात लागेन । अहिले पनि मेरो प्राथमिकता सिद्धान्तत: शिक्षा प्रणाली बदल्ने मै जोड गर्नु पर्छ भन्ने मै छ । यो रणनीतिक प्रश्न होला ।
मानवजातीको विकास क्रम प्रकृतिसँगको संघर्ष, सामाजिक संघर्ष (वर्ग संघर्ष) , मस्तिष्क मन्थन र व्यवहारजनित ज्ञान मार्फत आजको युग सम्म आइपुगेको छ । विकास क्रम निसन्देह सरलबाट जटिलता तिर हुने गर्दछ । आज मानिसले आफ्नो सुविधा र उपभोगका लागि जे जति विकास गरेको छ त्यति नै थप जटिलता र चुनौतिहरुको सामना गरि रहनु परेको छ ।
विज्ञान प्रविधिको विकासका क्रममा वातावरणीय असरका कारण मानव जन्य (कृत्रिम) जटिलता सँगै प्राकृतिक जटिलतामा पनि फेरबदल आएको छ । जसका कारण पलपलमा मानव जातिलाई नयाँ नयाँ चुनौति संग सामना गर्नु पर्ने परिस्थिति सिर्जना भइरहेको छ । जसको पछिल्लो उदाहरण कोरोना भाइरस (कोविड १९) को विश्व महामारी हो । यो महामारी प्राकृतिक भएपनि मानव निर्मित भए पनि मानव समुदायका निम्ति जटिल चुनौतिको रुपमा प्रस्तुत भएको छ ।
यसले मानिसका हरेक जसो क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ र त्यसका विरुद्ध आज विश्व लडिरहेको छ । समाजमा प्रत्यक्ष परेका प्रभाव मध्ये शिक्षा क्षेत्रमा परेको प्रभाव पनि एक जटिल प्रभाव हो । हाम्रो जस्तो सूचना प्रविधिको प्रयोगमा बामे सर्दै गरेको राष्ट्रका निम्ति शिक्षालाई सहजता तर्फ लैजान झन चुनौति पूर्ण छ ।
नेपालको वर्तमान शिक्षा प्रणालिको रणनीतिक पक्षलाई थाँती राखेर तात्कालिक समाधानका निम्ति नेपाली शैक्षिक बजारमा आइरहेका विभिन्न विकल्पहरुलाई हाम्रा विद्यालयहरु, शिक्षक, अभिभावक र विद्यार्थीका वस्तुगत अवस्था सँग तुलना गरेर हेर्दा अफलाईन विद्यालय एप्लिकेसन निर्माण र वितरण नै सबै भन्दा प्रभावकारी हुन सक्छ जस्तो लाग्छ ।
म आफैंमा सूचना प्रविधि सँग त्यति अभ्यस्त शिक्षक होइन तथापी आजका विद्यार्थीहरुका सिकाइ मनोविज्ञान विश्लेषणका आधारमा कस्तो खालको विद्यालय एप्लिकेसन निर्माण गर्दा आजको जस्तो परिस्थितिमा पनि विद्यार्थीहरुले घरमै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्लान् त भनी यो बहसको उठान गरेको छु ।
अफलाइन विद्यालय एप्लिकेसन
यो एक किसिमको सरल र सस्तो अफलाइन मोबाइल एप्लिकेसन हुनेछ । हाल विद्यालयतहमा शिक्षण गरिने विभिन्न कक्षाका विषयगत पाठ्यक्रमका आधारमा स्तर अनुसार पाठ्य सामग्रीहरुको भिडियो, अडियो, लिखित सामग्री, चित्र आदि निर्माण गर्ने । निर्मित सामग्री सकभर वस्तुवादी, परिचित, सरल र मनोरञ्जनात्मक खालको बनाउन ध्यान दिने ।
प्रत्येक पाठसँग सम्बन्धित विषय वस्तुको छुट्टा छुट्टा छुट्टै सामग्री निर्माण गर्ने । सामग्रीहरु नाटक, लघु डकुमेन्ट्री, स्थलगत दृश्य, गीत, कविता, वास्तविक वस्तुको दृश्य, आवाज, लिखित पाठ्याँश आदिको रुपमा निर्माण गर्ने । पाठको अन्त्यमा विद्यार्थीको स्तर अनुसार मूल्याङ्कनका लागि प्रश्नावलि बनाउने ।
विद्यार्थीले प्रश्नको सहि उत्तर मिलाउँदा लेभल बढ्ने वा अंक बढ्ने गरी खेल जस्तो किसिमले निर्माण गर्ने । यसबाट विद्यार्थीहरु सिकाईवा पढाईलाई खेलको रुपमा मनोरञ्जन लिंदै बुझ्न सकुन् । आफ्ना वालवालिकाले सहित रिकाले सिकेका छन् की छैनन् भनेर अभिभावकले समेत लेभल वा अंक हेरेर थाहा पाउन सक्छन् ।
माथिल्ला तहका लागि पाठको अन्त्यमा सारांश, बूँदा, एकाई परिक्षा प्रश्नावलि जस्ता सामग्रीहरु समावेश गराउन सकिन्छ । हाल मिडासले सशुल्क यस्ता किसिमका सामग्रीहरु निर्माण गरि वितरण गरिरहेको छ । तर ती सामग्रीहरु महंगो र प्रत्येक वर्ष नविकरण गरिरहनु पर्ने भएकाले सबैको पहुँचमा पुग्न सकेको छैन ।
सरकारले एक पटक लगानी गरेर निर्माण गरि सकेपछि पाठ्यक्रम परिवर्तन नहुँदा सम्म काम गरिरहन सक्छ । आवश्यकता अनुसार समय समयमा अनलाइन मार्फत अपडेट गर्न सकिने गरि निर्माण गनु पर्दछ ।
सबै विद्यार्थीको पहुँचमा एन्ड्रोइड मोबाइल हुँदैन कि भन्ने प्रश्न पनि उठ्न सक्छ । आजभोलि परिवारका कुनै न कुनै सदस्यसँग एन्ड्रोइड मोबाइल उपलब्ध छ । त्यसैको उपयोग गर्न सक्छन् । प्राय घरमा प्रयोग गर्ने हुनाले अभिभावकको निगरानीमा बालबालिकाले प्रयोग गर्न सक्छन् ।
यसरी निर्माण गरिने एप्लिकेसन अफलाइन हुने हुँदा अभिभावकलाई कुनै अतिरिक्त व्ययभार पर्दैन भने Share it, Play Store,You Tube आदिबाट सजिलै ट्रान्सफर र Install गर्न सकिने किसिमको हुन्छ ।
हाल आलेख मेरो नितान्त सीमित ज्ञान र सोचको परिणाम मात्र हो । मैले विषय उठान मात्र गरेको हुँ । यस विषय सँग जानकार महानुभावहरुले विस्तृत व्याख्या, विधि र प्रयोगमा ध्यान दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
हल कतिपय विद्यालय वा शिक्षकहरुले सञ्चालन गरिरेका online class ले सिमित विद्यार्थीहरुले लाभ लिइरहेका भए पनि अधिकांस विद्यार्थी र अभिभावकमा थप दबाव र मानसिक तनाव उत्पन्न गराइ रहेको छ ।
ग्रामिण वस्तीहरुमा नेटको सुविधान हुने, भाईहाले पछि इन्टरनेट शुल्कको भार पर्नेे, र केहि विद्यार्थीहरुले कक्षा लिने केहिले नलिने हँदा विभेदको अवस्था सिर्जना भएको छ । यसले कक्षा नलिने विद्यार्थीमा अनावश्यक तनाव सिर्जना हुने र अभिभावकमा पनि दबाव सिर्जना हुने भइ रहेको छ ।
तसर्थ आफ्नो देश, काल, परिस्थिति अनुसारको प्रविधिको प्रयोग मार्फत सिकाइलाई अगाडी बढाउन शिक्षाका अधिकार प्राप्त निकायहरु, विज्ञहरु, गैर सरकारी निकायहरुको बेलैमा ध्यान जान जरुरी छ । (लेखक अधिकारी एकीकृत अखिल नेपाल शिक्षक संगठनका बागमती प्रदेशका वरिष्ठ उपाध्य हुन् ।)