
धादिङ पुस १५ । आज गुरुङहरुले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
गुरुङहरुले मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गर्दै नयाँ वर्ष मनाउन लागेका हुन् ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको छ ।
यसवर्ष तमु ल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायले सांस्कृतिक परम्परामा आधारित कार्यक्रमहरु गर्ने गर्दछन् ।