धादिङको त्रिपुरासुन्दरी धार्मिक मेलामा फुटबल प्रतियाेगिता हुने

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २७, २०७६

सुवास थपलिया
धादिङ कार्तिक २७ ।
धादिङ जिल्लाको एैतिहासिक त्रिपुरासुन्दरीकाे धार्मिक मेलामा खुल्ला 7A साईड फुटबल प्रतियाेगिता हुने भएकाे छ ।

त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने त्रिपुरासुन्दरी धार्मिक मेलामा विगत केहि वर्ष देखि नियमित रुपमा हुँदै आएको साँस्कृतिक कार्यक्रम र फुटबल प्रतियोगिता यस बर्ष पनि हुन लागेको न्यू त्रिपुरासुन्दरी युवा क्लवका अध्यक्ष दिपेन्द्र शाहले बताए ।

धार्मिक, पर्यटन तथा साँस्कृतिक महत्व बोकेको यस त्रिपुरासुन्दरी मेला प्रत्येक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर मनाईने चलन अनुरुप यस वर्ष मंसिर १३ गते हुन लागेको हो ।

त्रिपुरासुन्दरी मेला प्राङ्गणमा हुने फुटबल नवाैं त्रिपुरासुन्दरी कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी ५० हजार, दितिय पुरस्कार राशी ३० हजार र तृतिय पुरस्कार २० हजार रहेकाे क्लवका अध्यक्ष शाहले धादिङपोष्टलाई बताए ।

फिफाकाे नियम अनुसार खेलाईने फुटबल प्रतियाेगितामा भाग लिन चाहने क्लव वा संस्थाले मंसिर ९ गते सम्म टिम दर्ता गरे सँगै १० गते देखि खेल संचालन हुने प्रतियाेगिताकाे मंसिर १३ गते भव्य साँस्कृतिक कार्यक्रमका बीच पुरस्कार वितरण गरिने बताईएकाे छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुराभगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको कथन छ ।

यो जात्रामा तपाई आउँदै हुनुहुन्छ भने, यो जात्राको विषयमा तपाई जानकार हुनै पर्छ । यो जात्रा तीन दिन सम्म चल्छ हजारौ भक्तजनहरु जात्रामा सहभागि हुन्छन् तर एउटै महत्वपूर्ण कुरो देविको प्रतिक मुर्ति कसैले पनि हेर्न पाउदैनन् । वर्षेनी ५० हजार भन्दा बढी भक्तजनहरु सहभागि हुने उक्त मेलामा देविको मुर्ति हेर्न नपाईनुको कारण जान्न तल पढ्दै जानु होला ।

जात्राको जान्नै पर्ने विशेषता

१. धादिङको सल्यानकोटमा रहेकी त्रिपुरासुन्दरी भगवतीको उत्पतीको विभिन्न खालेको किंबदन्ती भेटिन्छ । श्रीस्वस्थानीमा उल्लेख भए अनुसार यज्ञकुण्डमा हामफालेकी सतिदेवीको मृत शरीर बोकेर भगवान शिवले पृथ्वीलोक भ्रमण गर्दा शतीदेवीको कण्ड्यौलो पतन भएको उल्लेख छ । नुवाकोट आक्रमणमा निस्केका राष्ट्र निर्माता पृथ्वीनारयाण शाहको नुवाकोट आक्रममा जाने क्रममा गोर्खाबाट आउँदा यही स्थानमा बास परेको र सपनामा एउटी बालिकाले हातमा खड्गसहित विजयी हुने बरदान दिएको कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ ।

२. सदरमुकाम धादिङबेंसीबाट ४० किमी उत्तरतर्फ पर्ने सल्यानकोटको हटीयाको मन्दिरबाटबाट आगिन्चोकको हाँसेमा भएको मन्दिरमा ल्याई देवि भित्र्याउने चलन रहि आएको छ । प्राचीनकालदेखि शाहवंशीय राजाले विशेष महत्वका साथ सो स्थानमा पूजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । त्रिपुरासुन्दरीको साविककाे सल्यानकोट गाविस–५ मा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ, जुन मामाघरको रूपमा प्रसिद्ध र आगिन्चोक स्थित सल्यानबेंसीमा गरेर तीन मन्दिर छन् ।

३. सल्यानकोट थुम्कोमा रहेको मन्दिरलाई दशैंघर भनिन्छ कतिपयले सो मन्दिरलाई भगवतीको मामाघरको रुपमा समेत हेर्ने गर्दछन् । अर्को मन्दिर साविककाे सल्यानकोटको वडा नम्बर ५ कै पश्चिम थुम्कोमा । जुन मन्दिर भगवतीको मूल मन्दिर हो । यो मन्दिरमा वर्षको अधिकांश समय भगवतीलाई राखेर पुजा आराधाना गरिन्छ । साविककाे आगिन्चोकको वडा नम्बर १ स्थित गणेशस्थान नजिकैको हाँसेपसल छेउमा रहेको मन्दिरलाई माइती घरका रुपमा चिन्निन्छ ।

४. भगवतीको मूर्ति रहेको विश्वास गरिएको बाकस पुजारीले पिँठ्युमा बोकेर करिब तीन घन्टाको पैदल दूरी पार गर्दै सल्यानबेंसीको मन्दिरमा ल्याउने गरिन्छ ।

५. भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टीकाको दिन हेर्ने र तिहारको भाइटीकाको दिन त्यसलाई सार्वजनिक गर्ने चलन छ ।

६. मन्दिर प्रवेश गर्ने बेलैमा रानामगर, सापकोटा र तिमल्सिनाले भगवतीको स्वरूपबारे कसैलाई जानकारी गराउँदिनँ भनेर कसम खाने पुरानो प्रचलन अहिले पनि छ । यी तीन थर बाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुख्य ढोकाबाटै भगवतीलाई पूजा–आजा गर्नुपर्ने नियम छ ।

७. मङ्सिर देखि चैतसम्म भगवतीलाई आगिन्चोक स्थित बेसीको मन्दिरमा राखिन्छ, जुन भगवतीको माइतीको रूपमा प्रचलित छ । सल्यानकोट कै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिन्छ ।

८. धादिङ्गको त्रिपुरासुन्दरी भगवती हुन् जुन जसलाई वर्षमा ३ फरक फरक मन्दिरमा लगेर पुजा आजा गरिन्छ यस्तो नेपालको कुनै मिन्दर पनि छैन ।

९. भगवतीको लागि ४ सय २२ मुरी जमिन गुठीको रुपमा रहेको छ ।

१०. काठमाडौंबाट करिब १ सय ३० किलोमिटर पश्चिममा अवस्थित यो मन्दिर स्थानीय बासीन्दाको लागि निक्कै आस्था र विश्वासको केन्द्र बनेको छ ।