धादिङमा स्क्रब टाइफसका बिरामीको संख्या १०४ पुग्यो

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २५, २०७६

धादिङ कार्तिक २५ । मुसामा लाग्ने किर्नाजस्तो देखिने माइट (कीरा) ले टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक ब्याक्टेरिया ‘ओरेन्सिया सुसुगामुसी’ रगतमा फैलिएर लाग्ने स्क्रब टाइफसका विरामीहरु धादिङमा अहिले सम्म १०४ जना भेटिएका छन् ।

संक्रमित कीराले टोकेको सामान्यत ५ देखि १४ दिनमा लक्षण देखिने स्क्रब टाइफसका विरामी प्रदेश ३ को १३ जिल्ला मध्ये सबै भन्दा धेरै धादिङमा १०४ जना स्क्रब टाइफस संक्रमणका बिरामी भेटिएका हुन् ।

देश नम्बर ३ को १३ जिल्ला मध्ये सबै भन्दा धेरै धादिङ जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने रसुवा र रामेछापमा संक्रमणको संख्या शुन्य रहेको छ । प्रदेश नम्बर ३ को धादिङमा १०४, काठमाण्डौंमा ८३, चितवनमा ६७, ललितपुरमा ३१, काभ्रेपलाञ्चोकमा २७, मकवानपुरमा २५, नुवाकोटमा १६, सिन्धुली ८, सिन्धुपाल्चोक र भक्तपुरमा ७-७ र दोलखामा ३ जनामा स्क्रब टाईपसको संक्रमण देखिएको छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यो वर्ष डेंगु सँगसँगै स्क्रब टाइफस फैलियो । डेंगु भन्दा बढी जोखिम रहेको यो रोग साउन १ गते देखि कात्तिक १७ गते सम्ममा देशका ६३ जिल्लामा १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको छ ।

जाडो सुरु हुन थाले पनि मुलुकको विभिन्न भागमा स्क्रब टाइफसको संक्रमण अझै रोकिएको छैन । सहरको दाँजोमा ग्रामीण क्षेत्रमा यो संक्रमणको चुनौतीमा बढी कायम रहेको निर्देशक पाण्डेले बताए ।

स्क्रब टाइफस रोग
स्क्रब टाइफस (Scrub typhus) वा बुस टाइफस (bush typhus ) नामक रोग ओरेन्सिया सुसुगमुसी (Orentia tsutsugamushi) नामक परजिवीको संक्रमणले लाग्ने रोग हो । यो परजिवीलाई एक प्रकारको माइट (mite) जातिको सुक्ष्म किराले सार्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

लक्षण
ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, माम्सपेसी दुख्नु, पाचन आङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदी यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा जिर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।

उपचार
यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ। औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने हुन्छ । डक्सी साइक्लिन (doxycicyline), एजिथ्रोमाइसिन (azithromycin), क्लारामफेनिकल (Chloramphenicol), रिफाम्पिन (Rifampin) सिप्रोफ्लोक्सिन (Ciprofloxacin) मध्य कुनै एक औषधि पाँचदेखि दसदिन प्रयोग गर्दा यो रोग ठिक हुन्छ । तर गर्भवती महिलाले भने सिप्रोफ्लोक्सिन (Ciprofloxacin) प्रयोग नगरि अन्य मात्र प्रयोग गर्नु उचित हुन्छ ।

रोकथाम
किटाणु सार्ने माइटको सम्पर्क बाट टाढा रहनु नै यसको प्रमुख रोक थाम हो । यसको लागी घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केहि ओछ्याएर बस्ने गर्नु पर्दछ ।