विदा किन ?

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १२, २०७६

Ram Lohani
सांस्कृतिक पर्व र राष्ट्रिय पर्वको आ-आफ्नो महत्व हुन्छ। दशैँमा बिदा दिनुको मतलब फुटबल खेल्न त होइन नि ! माघीमा बिदा पाएको थारूले जूवा खेल्यो भने त राम्रो भएन नि ! माघी मनाउनु पर्‍यो ।

भर्खरै मुस्लिम समुदायको ईद सक्कियो। ईदमा उनीहरू घुम्‍न गए कि डेटिङमा गए ? कि पर्व मनाए ? त्यस्तै सहिद दिवसको दिन सहिदहरूलाई सम्झिने, सहिदको योगदानको चर्चा गर्ने र उनीहरूलाई धन्यवाद दिने हो । उनीहरूको सहादतबाट प्राप्त अधिकारको उपयोग गर्ने, अनि वर्षको एक दिन उनीहरूलाई संझनू, उनीहरूको चरित्रगायन गर्नू भनेर सरकारले दिएको बिदाको दिन डेटिङ जाने, पिकनिक जाने  ? अरू दिन छैन त्यसो गर्नलाई  ?  डेटिङ जान र पिकनिक जान पाउने अधिकारको लागि हो सहिदको सहादत  ?  त्यस्तै, संविधान दिवसमा बिदा हुने भनेको संविधान दिवस मनाउन हो । हाम्रो संविधान त झन् “जनता” ले बनाएको संविधान हो । संविधानमा के छ, संविधान कस्तो छ, संविधानको मर्मलाई कार्यान्वयन गर्न के कस्तो योगदान गर्न सकिन्छ, संविधान बनाउन क-कसले कस्तो योगदान गरे, कस्तो बलिदान गरे आदि कुराको चर्चा परिचर्चा गर्ने, संविधानका उपलब्धीहरूको यशोगान गाउने, गाउन लगाउने जस्ता काम गर्न सरकारले नियमति कामबाट छुट्टि दिएको हो ।

यहाँ बिदाको परिभाषामै मान्छेको अलमल देख्छु म । सरकारले छुट्टि दिएको आफ्ना मातहतका कर्मचारीलाई हो । मातहतका कर्मचारीहरूलाई उनीहरूको सांस्कृतिक परम्परालाई कायम राख्‍ने दिइने बिदा एउटा कुरा हो । त्यो दिइराखेकै छ । साथै, राष्ट्रले गौरव गर्ने दिनलाई हर्षोल्लास पूर्वक मनाउनु पनि सरकारको नून खाएका कर्मचारीहरूको दायित्व हो । यो दिन बिदा पनि दिइएको छ, तलब पनि दिइएको छ । तलबी बिदा भनेको व्यक्तिगत मनोरञ्जन गर्नको लागि होइन । व्यक्तिगत मनोरञ्जन गर्नको लागि छुट्टै बिदा लिन सकिने व्यवस्था ऐनमै छ । त्यो सुविधा दिएकै छ ।

राष्ट्रिय महत्वका सार्वजनिक दिनहरू पात्रोमै उल्लेख गरेर बिदा दिइनुको प्रयोजन हुन्छ भन्ने कुरालाई ध्यान दिनु पर्‍यो । सरकारले अरू सर्वसाधारणलाई बाध्य गर्न नसके पनि आफूले तलब दिएर पालिराखेको जमातलाई निर्देशन दिन सक्छ त्यो दिन के गर्ने, के नगर्ने वा के गर्नु हुँदैन भनेर । संविधान जस्तो महत्वपूर्ण राष्ट्रिय दस्तावेज लागू भएको दिन नियमित काम गर्नबाट छुट्टी दिएको संविधान दिवस मनाउन हो भन्ने कुरा सरकारले भन्नु पर्ने नै होइन । विवेकशील व्यक्तिले आफै जान्ने कुरा हो । वास्तवमा संविधान दिवसको दिन बिहा गर्ने, डेटिङ जाने, पिकनिक जाने जस्ता मनोरञ्जनका काम गर्ने हुँदै होइन । त्यसो गर्न कर्मचारीले ऐनले दिएको सहुलियत अनुसार बिदा लिन पाउँछन् । सर्वसाधारण गैरको हकमा सरकारले त्यस्तो ह्विप लगाउन सक्दैन ।