डेट गएको औषधी समेत भेटियो
धादिङ भाद्र ४ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ ठाँठी भञ्ज्याङमा रहेको नलाङ स्वास्थ्य चौकी अस्त व्यस्ततामा संचालन भएको पाईएको छ ।
बाहिरबाट हेर्दा जति सुन्दर भवन देखिए पनि त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्य चौकी संचालन समितिको उदासिन कार्यशैलिका कारण स्वास्थ्यचौकी अस्त व्यस्त भएको पाईएको हो ।
मंगलबार १० वजे हामी पुग्दा स्वास्थ्य चौकी इन्चार्ज गाउँपालिकामा भएको मिटिङमा गएकोले भेट्न सकिएन । नलाङ स्वास्थ्य चौकीमा न त खाता सहि तरिकाले संचालन गरेको पाईयो, न त नागरिक वडा पत्र नै देखियो ।
भौतिक संरचना सुन्दर देखिए पनि धाराको मुख्य बडी मै झार उम्रेको देखिएपछि रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले उखेलेर फालेका थिए ।
भुकम्प पछि स्वास्थ्य चौकिलाई प्राप्त उपकरण पनि स्वास्थ्य चौकीको गेट मै वेवारिसे अवस्थामा राखिएको छ, भने इमर्जेसीमा विरामीलाई दिन, डेट गैसकेको औषधी समेत राखेको भेटिएको थियो ।
सरकारले दिने ३५ र गाउँपालिकाले उपलब्ध गराएको ७ थरीका औषधी मध्ये २२ थरीका मात्र औषधी भेटिएको सिद्धलेक नलाङ स्वस्थ्य चौकीमा उपलब्ध औषधी विवरण लिस्टमा पनि ०७५ नैै लेखिएको छ ।
कर्मचारीले हाजिर पनि एउटै फाइलमा दुई ठाउँमा गरेको भेटियो । भएका सामानहरु पनि उचित व्यवस्थापन गरेको नदेखिने यस स्वास्थ्य चौकीमा त्यहा कार्यरत कर्मीचारीले गर्न सक्ने आधारभुत कुराहरुमा समेत ख्याल गरेको देखिएन ।