धादिङ जेष्ठ ३ । धादिङका पत्रकारहरुले धादिङबेसी बीचबजार चोकमा आफ्नो संचार साधनहरु प्रदर्शन गरि ‘मिडिया काउन्सिल विधेयक’ को विरोध गरेका छन् ।
पत्रकार महासंघको पुर्व निर्धारित कार्यक्रम अनुसार धादिङका पत्रकारहरुले शुक्रबार बिहान ८ बजे देखि ९ बजे सम्म आफ्नो संचार साधनहरु प्रदर्शन गर्दै विरोध गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गर्दै सरकार समक्ष चरणवद्ध अन्दोलन गर्दै आएको छ ।
धादिङबेसीमा पत्रकारहरुले गरेको आजको विरोध प्रदर्शनमा नेपालीका काँग्रेस धादिङका सभापति रमेश धमला र नेकपा धादिङका नेता जिउँदा सहिद रामबहादुर भण्डारीले विरोध प्रदर्शनमा सहभागि हुँदै ऐकबद्धता जनाएका थिए ।
के छ प्रस्तावित ‘मिडिया काउन्सिल विधेयक’मा
पत्रकार आचारसंहिता विपरीत समाचार लेख्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ । काउन्सिलले आचारसंहिता विपरीत समाचार लेख्नेलाई २५ हजार रुपैयाँदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थाको प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको हो । मन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधिसभा सचिवालयमा उक्त विधेयक दर्ता गरेका हुन् ।
विधेयकमा दफा १८ मा भनिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच आएको भनी सम्बन्धित व्यक्तिले दिएको उजुरी प्रमाणित भएमा सम्बन्धित आमसञ्चार माध्यम, प्रकाश, सम्पादक, पत्रकार वा सम्वाददातलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ ।’