किसानलाई जहिले पनि मल पाउनै सास्ती

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १, २०७६

धादिङ जेष्ठ १ । एक बोरा मललाई ९ सय तिर्नुपर्छ । त्यसका लागि पनि ४ घण्टा लाइन बसेर बल्ल एक बोरा मल पाइन्छ । ‘हामी किसानलाई जहिले पनि मल चाहिएका बेलामा यस्तै दुःख हुन्छ’, नीलकण्ठ नगरपालिका ११ ज्यामरुङका दीपक धमलाले सदरमुकामस्थित नीलकण्ठ साझा सहकारीबाट ठेलमठेल गर्दै १ बोरा मल खरिद गरेपछि गुनासो गरे ।

धमलाको मात्रै होइन, मंगलबार मल लिन आएका सदरमुकाम आसपासका किसान सबैको यस्तै गुनासो छ । बारीमा छरेको मकै उम्रिएको छ भने खेतमा लगाएको चैते धान फूल खेल्ने बेला भएको छ । मल नहाली उब्जनी बढ्दैन तर धादिङका किसानले चाहेको बेला भने कहिल्यै मल उपलब्ध हुन सकेको छैन ।

नीलकण्ठ नगरपालिका ९ पाल्पाकी कोपिला लम्साल मल किन्न लगातार ४ दिन सदरमुकाम धाइन् । ४ दिन आउँदा पनि नपाएपछि कार्यालयको फोन नम्बर लिएर गएकी लम्सालले मंगलबार मल आउने जानकारी सोमबार साँझ नै पाएपछि छिमेकी र साथीसहित बिहान ८ बजे सहकारी आइपुगिन् । करिब ४ घण्टा कुरेपछि १ बजेतिर बल्लतल्ल १ बोरा मल खरिद गरिन् । लम्सालले भनिन्, ‘भीडभाड हुन्छ भनेर बिहानै खानासमेत नखाइ आइयो, टन्टलापुर घाममा लाइन लाग्दाको दुःख कसले देख्ने ? ’

हरेक वर्ष र हरेक सिजनमा किसानलाई मल आवश्यकपर्ने बेलामा सधैं हाहाकार हुने गरेको छ । १ बोरा मल खरिद गर्न घण्टौं लाइन र सास्ती खेप्नुपर्दा किसान हैरान छन् । ज्यामरुङका दीपक धमलाले भने, ‘सरकार कृषकलाइ कृषि उत्पादन बढाउ भन्छ, १ बोरा मल पाउन पनि यत्रो लँडाइ गर्न पर्छ, हरेक वर्ष मल चाहिने बेलामा यस्तो सास्ती हुँदा पनि किन किसानका दुःख कसैको आँखामा नपरेको होला ।’

यतिबेला खेतमा लगाइएको चैतेधान र मकै तथा वैशाख पहिलो सातादेखि पाखो बारीमा छरेको मकैमा रासायनिक मल हालेर गोड्ने सिजन हो तर किसानले चाहेको बेलामा सहकारीले कहिल्यै पनि सहज तरिकाले मल उपलब्ध गराउन सक्दैन ।

किसानको सहजताका लागि सरकारले गाउँगाउँका कृषि सहकारीबाट मल बिक्रीवितरण गर्ने निति पनि बनाएको छ तर किसानलाई आवश्यकपर्ने बेलामा गाउँका सहकारीले समेत मल ल्याउन सक्दैन । यसै कारणले किसान बाध्य भएर १ बोरा मल खरिद गर्न सदरमुकाम झर्न र घण्टौं लाइन बस्न बाध्य हुन्छन् ।

नेत्रावती गाउँपालिका सेमजोङका कृषक हस्तबहादुर गुरुङले भने, ‘कम से कम वडा कार्यालयसम्म भने पनि सहजरूपमा मल बिक्री गर्ने वातावरण मिलाइदिए खेतीकिसानी नै गरेर हातमुख जोर्ने किसानलाई त राहत हुन्थ्यो कि ।’

कृषि ज्ञान केन्द्र धादिङको तथ्यांकअनुसार धादिङ जिल्लाभरका लागि १ वर्षमा १२ हजार मेट्रिक टन मल आवश्यक पर्छ । तर कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न सहकारीमार्फत मुस्किलले ४ हजार मेट्रिक टन मल मात्रै उपलब्ध गराउँदै आएको छ । बाँकी आवश्यक मल बजारका व्यवसायीले चोर बाटोबाट ल्याउँदै महँगोमा किसानलाई बिक्री गर्ने गरेको गुनासो किसानबाटै आउने गरेको छ । (मनीष दुवाडीले लेख्नुभएको यो खवर अन्नपूर्णपोष्टबाट साभार गरिएको )