काँग्रेस धादिङकाे जागरण अभियान सुरु

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २५, २०७६

धादिङबेसी बैशाख २५ । नेपाली काँग्रेस धादिङले आज एक भव्य कार्यक्रमका बीच जागरण अभियान सुरु गरेकाे छ ।

सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएको छ ।

धादिङमा हुने जागरण अभियानकाे केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि प्रदिप पौडेलले विरुवामा पानी राखेर कार्यक्रम उद्घाटन गरे सँगै सुरु भएकाे हाे ।

आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने काँग्रेसले जनाएको छ ।

आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ ।

अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरिएको जनाएको छ ।

अभियान उद्घाटनमा नेपाली काँग्रेस धादिङका नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे । फाेटाे नवराज तिमल्सिना