सञ्जय देवकोटा
धादिङ, चैत्र १ । न्यु धादिङ बोर्डिङ स्कुलमा कक्षा पाँचमा अध्ययनरत क्यान्सर रोगी लोकेन्द्र गुरुङको उपचारका लागि सहयोगार्थ धादिङ बोर्डिङ माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ ।
गङ्गाजमुना गाउँ पालिका वडा नं. ३ साबिकको गुम्दी गाविसमा जन्मिएर सदरमुकाम स्थित न्यु धादिङ बोर्डिङमा अध्ययनरत गुरुङको खुट्टामा क्यान्सरका कारण उपचारमा समस्या देखिएकोले उपचार सहयोग अभिययान संचाललन गर्दै धादिङ बोर्डिङले नगद रु २५ हजार ३ सय १५ रुपैया सहयोग गरेको हो ।
नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचाररत गुरुङलाई सहयोगार्थ विद्यालयका विद्यार्थी र शिक्षकहरुबाट सङ्कलित रु २५ हजार ३ सय १५ रकम आज न्यु धादिङ बोर्डिङकी शिक्षक नविना श्रेष्ठलाई विद्यालयका प्रधानाध्यापक हरि लम्सालले हस्तान्तरण गरे ।
अभिभावकको आर्थिक अवस्था निकै नै कमजोर र उपचारका लागि करिब ३० लाख रकम आवश्यक पर्ने भएकाले सबै समाजसेवी र सहयोगी मनहरुमा सहयोगका अपिल समेत पारिवारिक स्रोतले गरेको छ ।
धादिङवेसीका विद्यालयहरुमा सहयोग रकम सङ्कलनको क्रम जारी रहेको र अहिलेसम्म १ लाख सहयोग प्राप्त भएको न्यु धादिङ बोर्डिङका प्रधानाध्यापक अभिशेक बसौलाले जानकारी दिनुभयो ।