प्रवासी धादिङेलीहरुको सडक बनाउन दवाव अभियान

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ९, २०७५

धादिङ, बैशाख ९ । धादिङ आरुघाट सडक खण्डको अवस्थानाजुक बनेपछि प्रवासी धादिङेलीहरुले फेसबुक दवाव अभियान सुरु गरेका छन् ।


उक्त सडक खन्डमा हिलोमा आधाजति गाडिएको यात्रुवाहक बसलाई डोजरले तान्दै गरेको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राखेर सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने उद्धेश्यले अभियान थालिएको धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापाले बताए ।

करिब २५ बर्ष पहिले बनेको धादिङबेसी आरुघाट सडक खण्ड दिनानुदिन जीर्ण बन्दै गएको, केहीबर्ष पहिले गरिएको पिचको नामोनिसाना समेत नरहेको, पुर्व सांसदहरुबाट विनियोजन गरिएको भनिएको रकम सडक निर्माणमा कतै पनि प्रयोग भएको नदेखिएको, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन जान सक्ने अवस्था नरहेको र दैनिक यात्रा गर्न समेत लामो समय लाग्ने तथा कठिनाई पुर्ण रहने गरेको छ ।


दुई बर्षमा निर्माण गरिसक्नु पर्ने सम्झौता गरेको उक्त सडक खन्ड लामा कन्स्ट्रक्सनले १८ महिनाको अबधिमा २५ प्रतिशत पनि काम नसकेकोले सम्बन्धित निकायको ध्यान आकर्षित गरि दोषीउपर कडा कारवाही गर्नुका साथै समयमा नै काम सम्पन्न गर्नको लागि दवाव दिने हेतुले फेसबुक अभियान थालिएको समाजसेवी तथा गाउँमा कम्प्युटर शिक्षा अभियानका अध्यक्ष भुवन गुरुङले बताएका छन् ।

सांसद सिम्खडाद्धारा आत्मालोचना

धादिङ निर्वाचन क्षेत्र नं २ ख बाट निर्वाचित साँसद जगत सिम्खडाले धादिङवेसी आरुघाट सडक खन्डको दुरावस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै दोषीलाई कारवाही गर्ने र उक्त सडक निर्माण छिटो भन्दा छिटो सक्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सांसद सिम्खडा आफ्नो फेसबुकमा लेखेका छन् “एउटा जनप्रतिनिधी भएको हैसियतले सम्पुर्ण धादिङ उत्तरी क्षेत्रका जनतालाई परेको समस्या प्रति आत्मालोचना गर्दै यो अवस्थामा ल्याउनेहरु कोही कसैलाई नछाड्ने छिटोभन्दा छिटो काम सम्पन्न गर्न लगाउने प्रतिवद्धता गर्दछु ।”


सांसद सिम्खडाको उक्त स्टाटसमा अधिकाँस धादिङवासीहरुले कमेन्ट गर्दै दोषीउपर कडा भन्दा कडा कारवाही हुनुपर्ने, काम चाडै सम्पन्न हुनुपर्ने र आम धादिङवासीले धेरै अपेक्षा राखेको विचार व्यक्त गरेका छन् ।