परिचय र दशनामीको अर्थ

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०७५

सबै मानिसलाई आफ्नो समुदाय, सँस्कृति, जात, धर्म, सम्प्रदायको नितान्त माया लाग्छ र जसको बचावटको लागि जो सुकै असल ब्यक्ति अहोरात्र खटिरहेको हुन्छ र राज्यसँग आफ्नो पहिचान मागको लागि दबाबमूलक कार्यमा एकाग्र तल्लिन रहेको पाईन्छ ।
यस्तै नेपाली समुदायको ईतिहासमा दशनामी समाज एऊटा यस्तै ज्वलन्त नाम हो जसले राज्यसँग आफ्नो जातीय पहिचानको लागि राज्यसँग विभिन्न शान्तिपुर्ण आन्दोलन र दबाब गर्दै आएको जातीय साम्प्रदायिक समाजको रुपमा चिनिन्छ । स्थान अनुसार दशनामीहरुले कतै तागधारण (जनै लगाएको) गरेको टुपी पालेको कतै नपालेको पनि पाईन्छ । भारतबाट आएको दशनामी हरुले अनिबार्य रुपमा जनै धारण गरेको पाईन्छ तर तीब्बत पट्टिबाट नेपाल प्रबेश गरेको दशनामीले जनै धारण र टुपी राखेको पाईन्न ।
दशनामी हरुमा दश आेटा नामहरु पर्दछन् यिनीहरुको आआफ्नै अर्थ छन् ।
ती यिनै हुन्
१.गिरी
२.पुरी
३.भारती
४.वन
५.पर्वत
६.सागर
७.सरस्वती
८.आश्रम
९.आरण्य
१०.तीर्थ
यिनीहरुको आफ्नै जातीय अर्थ
गिरी:- हिमालयमा बास गरी गिताको अभ्यास गर्ने निश्चल मन भएको
पुरी:- ज्ञानले परिपूर्ण परब्रह्मा प्राप्ति भएको पुरुष
भारती :- विद्याको भार बोकेर सांसारिक दुःख बिर्सने मानिस
वन :-सांसारिक बन्धनबाट मुक्ति र निर्जन वनमा बस्ने सुन्दर शान्त स्वाभावको मानिस
आश्रम:-मोहरुपि बन्धनबाट मुक्त र आश्रम नियमादिमा दृढ भई आवागमनदेखि दुर मानिस
आरण्य :-विश्वलाई त्यागी वनमा नितान्त वनमा रहि आनन्दको भोग गर्ने मानिस
सरस्वती:-अमृतरुपि ज्ञानरत्नको ग्रहण गरेको र जनदेवको सांगोपांगो बुझेको पुरुष
पर्वत:-सारा जगत जानेर निष्फिक्री पर्वतको शिखरमा समाधि धारण गरी बस्ने पुरुष
सागर:- समुन्द्रको तिरमा रहि आध्यात्मिक शास्त्रको ज्ञान ग्रहण गर्ने तथा आश्रमको नियम पालना गर्ने पुरुष भनेर भनिएको पाईन्छ । (नेपाल दशनामी समाजको बार्षिक बुलेटिन २०७३ अंक १ बर्ष १ पृष्ठ ११,१२,१३ अधिवक्ता खिल गिरी)

स्थापनाकाल र राष्ट्रिय महाधिवेशन
वि.सं २०५३ फाल्गुन २४ गते महाशिवरात्रीको दिन लिलाप्रसाद गिरीको अध्यछ्यतामा ११ सदस्सीय कार्यसमिति गठन गरियो । नेपाल दशनामी समाजलाई काठमाडौं जिल्लामा दर्ता गरेर विधिवत् रुपमा वि सं. २०५४ भाद्र ११ गते स्थापना गरियो ।
संस्थापक सदस्यहरु र तदर्थ समितिको जिम्मा बार्षिक अधिबेशन सम्पन्न गर्नु र सदस्यहरुको पहिचान र विस्तार गर्नु थियो । वि सं .२०५८ साल बैशाख २ गते प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भयो जुन राजेन्द्र प्रसाद गिरीको अध्यछतामा १७ सदस्यीय केन्द्रिय कार्यसमितिको चयन भयो ।
दोस्रो राष्ट्रिय महाधिवेशन वि सं.२०६४ जेष्ठ १२ गते भक्तपुरमा रविन्द्र गिरीको अध्यछ्यतामा १७ सदस्यनै कायम रह्यो | तेस्रो राष्ट्रिय महाधिवेसन वि सं.२०६८ बैशाख १७ गते रविन्द्र गिरीकै अध्यछ्यतामा २४ सदस्सीय कार्यसमितिको चयन भयो । चौथो राष्ट्रिय महाधिवेशन विसं.२०७१ चैत्र २१ गते काठमाडौंमै सुसम्पन्न भयो जुन रञ्जनकुमार गिरीको अध्यछ्यतामा सम्पन्न भयो ।
दशनामी समाज नेपालको संरचनाको बिषयमा पछिल्लो महाधिवेशनपछि वि सं २०७२ मा नेपाल दशनामी युवा समाज त्यसैगरी वि सं. २०७४ मा नेपाल दशनामी महिला केन्द्रिय कार्यसमितिको पनि गठन र कार्यक्रमहरु सम्पन्न हुँदै आईरहेका छन् । हालसम्म ६१ जिल्लामा जिल्ला कार्य समिति र करिब १५/१६ यस आजीवन सदस्यहरु समाजमा आबद्ध रहेका छन् । अञ्चलगत कार्य समितिको अबधारणा अनुरुप तीन ओटा कार्य समिति मेची, कोशी, लुम्बिनी रहेको छ।

स्थापनादेखि हालसम्म राज्यसँग दशनामी पहिचान मागको लागि गरिएका कार्यक्रम तथा आन्दोलनहरु-
वि सं. २०५८ सालमा आदिबासी जनजाति प्रतिष्ठानले ५८ जातिहरुलाई आदिबासीमा सुचिकृत गरेको थियो र अन्य जातिहरुलाई अन्यमा राखिएको थियो ।
जसमा दशनामी समाजले पनि आफ्नो पहिचानको लागि विभिन्न आन्दोलन र दबाबका कार्यक्रमहरु दशनामी आदिबासीमा सुचिकृत हुनुपर्नेको लागि गरेको थियो जसमा ब्राह्मण, छ्यत्री सहितको समुहको ठुलो साथ थियो तर यिनीहरुलाई “आर्य खसमा ” सुचिकृत गरियो खस आर्यहरुमा पनि तीब्बतीयन समुदायबाट आएको खस आर्य मंगोलियन हुन् र भारतबाट आएको पर्दछन् ।
वि सं .२०६८ माघ ११ गते शुनकोशी छेत्रलाई स्वायत्त दशनामी राज्यको माग पनि गरियो । बि सं २०६९ सालमा जातीय निरपेक्छ्य राज्यको माग गर्दै संविधान सभा घेराउ कार्यक्रम पनि गरिएको थियो ।
डा . बाबुराम भट्टराईको राजनितिक कार्यकालमा दशनामी, ब्राह्मण छ्यत्री एकापट्टि “आर्य खस” र जनजाति, आदिबासी एकापट्टी रहेर आआफ्नो पहिचानको लागि आन्दोलन गरियो पहिलो संविधान सभाले केहि गर्न सकेन र यो बिघटन भयो । दोस्रो संविधान सभाको निर्वाचन २०७० मा दशनामी समुदायबाट ८ जना प्रतिनिधिहरु संविधान सभाको सदस्यको रुपमा चुनिएर गए जसमा :- प्रदिप गिरी, दिपक गिरी, ममता गिरी, सिता गिरी, प्रेम बहादुर गिरी, गोपाल गिरी, कमलेस पुरी गोस्वामी र दिलनाथ गिरी थिए । चुनिएको दशनामी जनप्रतिनिधिहरुलाई दशनामी समाजले स्वागत शुभकामना कार्यक्रम राखेर राज्यसँग पहिचान मागको लागि दबाब र लबिंग गरियो ।
नेपालको संविधानमा दशनामीको बारेमा साथै खस आर्यको बारेमा संविधानको धारा १८(३),धारा४२ को उपधारा (१),(२) ,धारा ६७(३) र धारा १७६ (६) मा उल्लेख गरिएको पाईन्छ । त्यसैगरी संविधानको धारा १८(३) मा स्पष्टिकरण, धारा४२(१) मा विपन्न खस आर्य ,धारा १७६(६) मा स्पष्टिकरणमा खस आर्य भन्नाले :- छ्यत्री, ब्राह्मण, ठकुरी सन्यासी (दशनामी) समुदाय सम्झनुपर्दछ भन्र लेखिएको पाईन्छ |
दशनामीको बारेमा अन्त्यमा लेख्नुपर्दा प्रथम जगत गुरु शंकराचार्यको जन्मपछि ऊहाँले धेरै मानिसहरुलाई अध्यात्मतिर आकर्षित गराऊनुभयो र जगतमा मठ मठाधिसहरुको धेरै चहलपहल साथै एक किसिमको ठुलो जन लहर थाम्न नसक्दा ती आध्यात्मिकहरु धेरैलाई गृहिस्थी जीवनमा फर्काईयो र दशनामीमा पनि कोही शाश्त्री र शश्त्री हुन पुगेको पाईन्छ । बास्तबमा तान्त्रिक अनि जगत गुरु यिनै दशनामीहरु हुन् भन्दा फरक पर्दैन ।