सरकार ! घरेलु कामदारमाथि प्रतिबन्ध कहिलेसम्म ?

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १५, २०७४

डिल्ली हुमागाई

बैदेशिक रोजगारीको लागि नेपालले हालसम्म १०९ वटा देशहरुसँग श्रम सम्झौता गरेको छ । इराकमा भने नेपाली कामदारहरुलाई वैदेशिक रोजगारमा जान हाल रोक लगाएको छ । नेपाल सरकारले श्रम सम्झौता गरेका देश मध्ये मध्यपूर्वका युएई, कतार, साउदी अरेबिया, कुवेत, ओमान, फिजी, इजिप्ट, बहराइन तथा मलेसियामा अधिक मात्रामा नेपाली कामदारहरु रहेका छन् ।

त्यस्तैगरी, इजरायल, केन्या, श्रीलंका, चेक गणतन्त्र, रोमानिया, लाओस, जाम्बिया मेक्सिको, स्लोभाक गणतन्त्रमा वैधानिक रुपमा नेपाली वैदेशिक रोजगारमा जान पाउने छन् । अल्जेरिया, स्वीडेन, मोजाम्विक, लक्जेम्वर्ग, हङकङ (हाल रोक लगाइएको), जर्मनी, गायना, मलेसिया, स्पेन, थाइल्यान्ड, सिंगापुर, निकारागुवा, नाइजेरिया, ब्रुनाई, अष्ट्रिया, अजरवैजान, दक्षिण कोरिया, बंगलादेश, इन्डोनेसियामा समेत नेपालबाट वैधानिक रुपमा काम गर्नको लागि जान पाउने छन् । त्यस्तै साइप्रस, लिविया, कोसोभा, लात्भिया, अल्वानिया, मंगोलिया, माल्दिभ्स, कोलम्विया, जस्ता देशमा श्रम सम्झौता नभएकाले सरकारले वैदेशिक रोजगारीमा बाटो खुल्ला गरे पनि नेपाली कामदारहरु रोजगारका लागि जान भने सकेका छैनन् ।

केही समयदेखि नेपाल सरकारले मध्यपुर्वका देशहरुमा घरेलु कामदार पठाउन सुरु गरेपनि तत्कालीन संसदीय समितिका अध्यक्ष प्रभु साहको नेतृत्वमा अध्ययन भ्रमणको नाममा मध्यपुर्वी देशहरु घुमेर फर्किको संसदीय समितिको टोलीले वि.सिं. २०७३ साल चैत २० गते खाडी राष्ट्रमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएसँगै युएईमा घरेलु काममा महिला कामदालाई आउन रोक लगाइएको छ । नेपाल सरकारले घरेलु कामदारको रुपमा खाडी मुलुक आउने नयाँ तथा पुराना सवै कामदारलाई श्रम स्वीकृति नदिने निर्णय गरेपछि लामो समयदेखि युएई लगायत खाडी मुलुकहरुमा काम गर्दै आएका नेपाली महिला कामदार यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । देशमै रहेरपनि गाँस, बाँस र कपासको लागि समेत निकै संर्घष गर्नुपर्छ । एक त नेपालमा रोजगारीको प्रशस्त अवसर छैन भने अर्कातिर उचिप सीपको कमी । सानै उमेरमा विवाह अपरिपक्व अवस्थामा नै तीन चार सन्तान, व्यवहारिक ज्ञानको अभावमा श्रीमान श्रीमति बीच बेमेल र पारपाचुके अनि सन्तानलाई हुर्काउन बढाउन र पढाउन पर्ने बाध्यता यी र यस्तै जिम्मेवारीको बोधले थिचिएर थोरै लगानीमा पनि केही आयआर्जन गरेर परिवार पाल्न सक्ने उद्धेश्यले घरेलु कामदारको रुपमा खाडी मुलुकहरु आउने बाध्य हुन्छन् ।

अर्कातिर पुरुष नेपाली युवाहरुको बाध्यता पनि यस्तै छ । स्कुल, कलेजका विभिन्न खुट्किला पारगदै विहेसम्मको अवस्था आइपुग्दा घर परिवारको जिम्मवारीले किच्दै जान्छ । घर परिवारको सबै जिम्मेवारी आफ्नै बहन गर्नु पर्ने विवशता त छदै छ त्यहीमाथि बढ्दो बेरोजगारी समस्याले गर्दा देश भित्रै रोजीरोटीको व्यवस्था गर्न नसकेपछि हरियो पासपोर्ट बोकेर वैदेशिक रोजगारलाई अगाल्नुको विकल्प नभएपछि आँखा बन्द गरेर विदेश निस्कनु त छदैछ । तर यसपछि काम, सुविधा तथा पारिश्रमिक के होला भन्ने भन्ने तिर कसैको पनि ध्यान गएको देखिदैन । यस्ता प्रवृतिको सिकार भएका निकै ठूलो जमात खाडीका विभिन्न देशहरुमा बग्रेल्ती पाउने गरिन्छ । पछिल्लो समय ठुला सपनाको भारी बोकेर युएई छिर्ने अत्याधिक रहेको छ । कोही घुम्न आउने बहानामा अध्यागमनको सेटिङ्गबाट आउछन त कोही तेस्रो मुलुकबाट आउने गर्छन । सरकारले भिजिट भीसमा युएई आउन रोक लगाएपछि विभिन्न तरीकाबाट आउने क्रम बढेको हो तर भिजिट भीसा बन्द गराएर मस्त निद्रामा सुतेको सरकार समस्या समाधानमा भने उदासीन देखिएको छ । मानवतस्कर, अध्यागमन कर्मचारी र माथिल्लो तहका व्यक्तिहरुको समेत मिलेमतोमा ठुलो हर्जना लिएर सेटिङ मार्फत युवाहरुको पैठारी हुने भएकोले आर्थिक उपार्जन हुने बाटो बन्द नहोस् भन्ने हेतुले सरकारी निकायहरु समस्या समाधानमा जागरुक नदेखिएको आरोप लगाउनेहरुलाई सरकारी उदासिनताले झन् मलजल गरेको देखिन्छ । यसरी मिलेमतो सेटिङ मार्फत आएका कामदारहरु तथा नेपालीद्वारा खोलिएका किलिङ्ग कम्पनीबाट भिषा निकाली घरेलु कामदारको रुपमा मोलमोलाइ गरेर महँगो पैसामा बेचिएपछि कोहि कम्पनीबाट, कोहि काम गर्ने घरबाट पिडित बन्ने गरेका थुप्रैका गुनासाहरु सुन्न पाइन्छ ।

पछिल्लो समयमा युएईमा स्थापना भएका विभिन्न जिल्लागत समाज, पार्टीका भातृ संगठन, पत्रकार महासंघ युएई शाखा, नेपाली समाज, गैरआवासीय नेपाली संघ युएई लगायत सस्थाले उद्धार आफ्नो बलबुताले भ्याएसम्म उद्धार गरिरहेका छन् । कतिपय युएईस्थित सामाजिक संस्थाले उद्धार गरेको फाइदा लिदै उनिहरुले आर्थिक सहयोग गर्छन भनेर पनि जानाजानी युएई भित्रिएको घटना धेरै छ । बिडम्बना नै भन्नुपर्छ नेपाली दुतावास अबुधाबीले मोटो रकम लिएर युएई ल्याइ खान बस्न र काम समेत दिन नसक्ने मानव तस्करको नाम पटक–पटक गरेर सार्बजनिक गरेको भएपनि त्यसको कुनै सुनुवाइ नभएको दूतावासका उच्चपदस्थ कर्मचारी बताँउछन।

खासगरी महिला तथा घरेलु कामदारहरु आर्थिक, मानसिक र शारिरिकरुपले पिडित हुने गरेका छन । कठिन परिस्थितिका बाबजुद पनि नेपालबाट आउदा अथवा लामो समय खाडीमुलक बसेर छुट्टि गएका चेलीहरुको श्रम श्रम स्वीकृत हुन नसक्दा बैदेशिक रोजगारीले विकराल रुप लिने सम्भावना बढेर गएको छ । यो बिषय आजको स भएको संवेदनशील विषय भएको छ । यहीँ समस्याले गर्दा धेरै महिलाहरु मेनपावरका दलाललाई मोटो रकम दिएर चोरबाटो हुदै विभिन्न जोखिमको सामाना गर्दै रोजगारीमा आउनु परेको छ । त्यतिमात्र नभएर यहाँ आएपछि पनि काम नपाए अलपत्र पर्नेको त ठुलै जमात रहेको छ । काम नपाए अलपत्र परेर दुतावास र विभिन्न सामाजिक संस्थाको सहारा लिएर नेपाल फर्किनु पर्छ । यस्तो अवस्थामा अब घरेलु कामदार भिषामा आउने चेलिबेटीहरुको सहजता र चोरबाटो बन्द गर्न श्रम स्विकृतिलाई व्यवस्थित गर्न सरकारी निकायको ध्यान जान एकदमै जरुरी छ । लामो समय काम गरेर बसेका महिलाहरु छुट्टिमा गएर सहज रुपमा काममा फर्किन पाउनुपर्छ । यसको लागी युएई स्थित नेपाली दुतावास र विभिन्न सामाजिक संघसंस्थाहरुले पटकपटक ध्यानाकर्षण गरेपनि सरोकारवाला निकाय मौनब्रतमा लीन छ ।

जुनसुकै कार्यमा पनि समस्याहरु आउछन् तर त्यसलाई समाधान गर्नुको साटो बाटो बन्द गर्नाले समस्या सल्टिने भन्दा बढी बल्झिने गर्छ । घरेलु कामदारको रुपमा युएई आउने महिलाहरुको लागी समस्या जति छ त्यो भन्दा बढी अबसर पनि छ त्यसलाई व्यवस्थित गर्न सक्यो भने देशले ठुलो फाइदा लिन सक्छ भन्ने दिशामा सरकार जानुपर्छ । नयाँ घरेलु कामदार जानको को लागी बाटो खोल्ने र पुरानालाई पुनः श्रम स्विकृती दिने वातावारण बनाउनु नै सरकारको मुख्य काम हुनुपर्छ । त्यसैगरी थोरै खर्चमा आउन सकिने भिजिट भीसा समेत रोकेर सेटिङ र मिलेमतोमा नेपाली युवाहरु युएई आईरहेको कुरामा कुनै पनि सरकारी निकाय बेखबर छैन । बैधानिक बाटो बन्द गरेर अबैधानिक बाटाबाट युवाहरु विदेश पठाएर के प्रमाणित गर्न खोजिदैछ यसको जवाफ कसले दिने ? कतै अवैधानिक रुपमा भईरहेको मानवतस्करीमा सरकारी निकायको लालमोहर नै त लागेको छैन ? बढिरहेको समस्यामा सरकारी निकायको नजरअन्दाले यही संकेत गरेको छ ।