देशलाई नै घर ठान्ने
दुःखी-गरिबका सेवक
एउटा सन्त चिकित्सकको लासमाथि
उसले बनायो
एउटा मानववधशाला
र आफूलाई त्यसको मालिक ठान्यो ।
उसले हतारहतारमै गर्न थाल्यो
मानवमृत्युको खेती
बेच्न थाल्यो चर्को मूल्यमा
मान्छे मार्ने प्रमाणपत्र
त्यसअघि
गुन्डानाइकेको तस्बिर पुजेर
बिकासे योजनाको हिसाबकिताब लुटेर
कमाएको कालो धनबाट पनि अतृप्त ऊ
अर्को झन घातक खेतीमा लाग्यो
र धनमाथि धनको उन्मादमा डुब्न थाल्यो ।
गाईको छाला ओढेर
गाईकै बाच्छाबाच्छी खाइबस्ने
धूर्त ब्वाँसो – ऊ
अचेल
आधुनिक निरो बन्ने अभ्यासमा पनि छ
त्यसैले त बिना बाँसुरी नै ऊ
अभावले जलिरहेका
व्यथाले गलिरहेका
देशबासीको खबर सुन्दा
संसदभवनमा अट्टहास गरिबस्छ ।
दिपेन्द्रसिंह थापा